मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ २७ गते

२० वर्षीया एक युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको एवम् बेचबिखन तथा ओसारपसार गरेको आरोपमा देपालगाउँ गाविस-६ की २६ वर्षीया कालीका आचार्य र सोही ठाउँका ३५ वर्षीय  गोविन्द उपाध्यायलाई प्रहरीले माघ २६ गते घरैबाट गिरफ्तार गरेको छ । घटनाका अन्य आरोपित भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

देपालगाउँ गाविस-६ का २८ वर्षीय नन्दप्रसाद आचार्य, २७ वर्षीया यशोदा आचार्य, २६ वर्षीया कालीका आचार्य,  ३१ वर्षीय रुद्र आचार्य, ३६ वर्षीय हिमानन्द आचार्य, सोही गाविस-७ का ३५ वर्षीय गोविन्द उपाध्याय र नाम खुल्न नसकेका होटल सञ्चालकले ०७३ मङ्सिर २८ गतेदेखि काठमाडौँ मनपा कलङ्कीस्थित राजधानी होटलमा कात्तिक २ गतेसम्म राखेर सामूहिक यौन शोषण गरेको भन्दै पीडित पक्षले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ७ गते दिएका थिए ।

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी गुरुविष्णु काफ्ले बताए । आरोपितहरूले वन कार्यालय अन्तरगत काम गर्नका लागि लेवल टु कोर्ष पढाइदिने भन्दै युवतीलाई काठमाडौँ लगेको पीडित पक्षले जनाएको छ । काठमाण्डौँको कलङ्कीस्थित राजधानी होटलमा राखेको अवस्था युवतीलाई उनका आफन्तले कात्तिक ३ गते उद्दार गरेको जनाएको छ ।

घटनापछि मानसिक समस्याबाट पीडित भएकी युवतीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेको छ । पीडितको काठमाडौँमा थप उपचारका लागि शक्ति समूहले समन्वय गरिरहेको महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक विन्दु कुँवरले बताइन् । उनले भनिन्-'यस घटनाका विरुद्ध सामूहिक बलात्कार, शरीर बन्धक र मानव बेचविखनसम्बन्धी उजुरी दर्ता गर्नुपर्ने हो । तर, मानव बेचबिखन तथा ओसारपसार मात्र दर्ता भएको छ । हामी पीडितको न्यायका लागि थप पहल गर्र्छौँ ।'


मानदत्त रावल