मानव बेचबिखन गरेको कसुरमा ३७ वर्षकैदको फैसला

मानव बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका वडा अध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्षकैद फैसला गरेको छ । साथै तामाङलाई २ लाख ५० हजार रुपियाँ जरिबानाको फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले चैत ८ गते उक्त फैसला गरेको हो ।

भारतमा बेचिएकी ३७ वर्षीया एक महिलाले ०७१ वैशाख ५ गते तामाङविरुद्ध उजुरी दिएकी थिइन् । वडा अध्यक्ष तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले मानव बेचबिखनमा संलग्न भएको आरोपमा गत पुस ७ गते गाउँबाटै गिरफ्तार गरी काठमाडौँमा थुनामा राखेको थियो ।

तामाङ दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् । तामाङ विरुद्धको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधीन रहेकै अवस्थामा उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोही मुद्दामा तामाङसँगै सुकमान लामालाई ३२ वर्ष ३ महिना २३ दिन र टीकाराम तामाङलाई ३० वर्षकैद साथै जनही २ लाख ५० हजार रुपियाँ जरिबाना गर्ने फैसला भएको नुवाकोट अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।


नवदीप श्रेष्ठ