मानव अधिकार समूहद्वारा खाद्यान्न सहयोग

  ०७९ असोज १२ गते

इन्सेकद्वारा गठित बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहले अति विपन्न अपाङ्गता भएका व्यक्तिलाई असोज १० गते खाद्यान्न सहयोग गरेको छ ।

इन्सेकको पहलमा बैजनाथ गाउँपालिका– ४का अपाङ्गता भएका मृगौला पीडित ३७ वर्षीय कलमबहादुर बस्नेतलाई खाद्यान्न सहयोग  गरेको समूहकी सदस्य रुकमाया बस्नेतले बताउनु भयो ।

शारीरिकरुपमा असक्त रहेका बस्नेतको आर्थिक अवस्था कमजोर रहेकाले छाक टार्न समस्या परेको जानकारी मानव अधिकार समूहले पाए पछि इन्सेक जिल्ला सहजकर्ता र मानव अधिकार समूहका पदाधिकारीहरूले भदौ ३१ गते बस्नेतको घरमा पुगेर जानकारी लिएका थिए ।

आर्थिक अवस्था दयनिय रहेको, साँझ बिहान छाक टार्न गाह्रो भएको, हप्तामा दुई पटक डाइलोसिस गर्ने गरेको, आफू बस्ने घर चुहिएर बस्न नमिल्ने भएका कारण भाडामा बस्ने गरेको अनुगमनमा पाइएको थियो ।

बस्नेतको अवस्थाका बारेमा जानकारी पाएपछि समूहका सदस्यहरूले रकम सङ्कलन गरी २ हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गरेको र घर निर्माणका लागि वडा र गाउँपालिकामा निवेदन दिएको समूहकी सह संयोजक तुलसी ज्ञवालीले बताउनु भयो ।

बैदेशिक रोजगारीमा भारतमा रहेका बेला लडेर अपाङ्गता भएका बस्नेतका पत्नी र दुई छोरा छोरी रहेका छन् ।


लक्ष्मी थारू