मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउन माग गरेका छन् ।

जिल्लाको दुर्गम क्षेत्रका महिलाहरू हिंसामा पर्दा समेत न्यायिक निकायसम्म नआउने गरेका कारण अधिकारको बारेमा सबैलाई जानकारी गराउन उक्त माग गरिएको हो ।

राष्ट्रिय महिला आयोगले मङ्सिर १६ गते आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र बजार क्षेत्रका महिलाहरूले मात्रै प्रहरीमा उजुरी दिने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रतिनिधि पार्वती अवस्थीले बताइन् ।

आर्थिक वर्ष ०७३/७४ को मङ्सिर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा महिला हिंसासम्बन्धी ४६ ओटा उजुरी परेको र उक्त उजुरीहरूमध्ये एक उजुरी जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सई प्रेम कुँवरले बताए । कुँवरका अनुसार उक्त अवधिमा ४५ ओटा घटनामा मिलापत्र गराइएको छ ।

गाँउ-गाँउमा मानव अधिकार शिक्षा सञ्चालन गर्न सके महिला हिंसालगायत मानव अधिकार उल्लङ्घनका अन्य घटनामा पनि कमी आउन सक्ने महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐरको भनाइ छ ।

अन्तर्क्रिया कार्यक्रममा उठाइएका मागलाई राष्ट्रिय महिला आयोगमा लगेर छलफल गर्ने आयोगकी कानुन सचिव सीता शर्माले प्रतिवद्धता जनाएकी छन् ।


नरी बडु