मानव अधिकार रक्षकहरूले दुर्व्यवहार खेप्नु परेको गुनासो

  ०७८ कात्तिक १५ गते

कोभिड–१९ महामारीका क्रममा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरूले आर्थिक, सामाजिक तथा भौतिकरूपमा दुर्व्यवहार खेप्नु परेको गुनासो गरेका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक १२ गते घोराहीमा आयोजित कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका  मानवअधिकार रक्षकहरुको अवस्था, चुनौती र सङ्रक्षण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानव अधिकार रक्षकहरूले उक्त गुनासो गरेका हुन् ।

मानव अधिकार रक्षकहरूले चौतर्फी दुर्व्यवहार, अपहेलना भएपनि महामारी नियन्त्रणमा योगदान गरेको बताएका थिए । स्वास्थ्यकर्मीहरू डेराबाट निकालिनु परेको, हिड्डुल गर्दा दुर्व्यवहार गरेको, जोखिम भत्ता नपाएको गुनासो गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै मानव अधिकार रक्षकहरूलाई दुर्व्यवहार भएको बताउनु भयो ।

महामारीको समयमा नागरिकहरूको जीवन जोगाउन खटिनेहरूलाई सम्मान गर्नुको साटो भेदभावपूर्ण व्यवहार हुनु निन्दनीय कार्य भएको भन्दै नेपालीले एक अर्काको कामलाई सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।

photo20211102dang

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जनप्रतिनिधिहरूबाटै गाली गलौज, गर्ने काम भएको भन्दै आफ्नो जिम्मेवारीलाई बिर्सिन नहुने बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत टंक गौतमले महामारी नियन्त्रणमा मानव अधिककार रक्षकहरूको भूमिका अतुलनीय रहेको भन्दै सेवा सुविधालाई सहज बनाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले कोभिडकै कारण प्रहरीले ज्यान गुमाएको स्मरण गर्दै उचित व्यवहार, सुविधा र सम्मानको खाँचो औल्याउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख भोला महतले इन्सेकले महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई गरिएको दर्व्यवहारका सम्बन्धमा प्रतिवेदन तयार गरेर सुरक्षा, सङ्क्षणका बारेमा खबरदारी गरिरहेको बताउनु भयो । प्रमुख महतले कोभिडबाट मृत्यु भएकाहरूको तथ्याङ्क लिने र कोभिड सङ्क्रमितहरूले विमा पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै कानुनी उपचार खोज्ने तयारीमा रहेको बताउनु भयो ।

photo20211101dang


जयनारायण पुन