मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक सरकारको सम्पत्तिः मन्त्री महतो

  ०७९ असोज १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मस्यौदा गरेर ल्याएको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक मधेस प्रदेश सरकारका लागि सम्पत्ति भएको मधेस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले बताउनु भएको छ ।

इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधामले भदौ ३१ गते जनकपुरधाममा आयोजना गरेको ‘मानव अधिकार रक्षकहरूको संरक्षण तथा संबर्द्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरूबिचको छलफल’ कार्यक्रममा मन्त्री महतोले मानव अधिकारका कतिपय सवालहरूको सम्बोधन गर्न सङ्घ तथा प्रदेश सरकार चुकिरहेको स्वीकार गर्नु भयो ।

महतोले मानव अधिकार रक्षकको सुरक्षाका सन्दर्भमा तीन ओटै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै उहाँले मानव अधिकार रक्षकको सुरक्षा र संबर्द्धनका लागि बनाइएको यस मस्यौदालाई प्रदेश सभामा छलफलका लागि लैजान पहलकदमी लिने प्रतिबद्धता जनाउनु भयो ।

Photo20220916dhanusha

मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद सुरेश मण्डलले मानव अधिकार रक्षकहरू मानव अधिकारको जोखिममा परेकाहरूको पक्षमा रहने भएकाले कहिलेकहीँ पीडकबाट जोखिममा पर्ने भएकाले मानव अधिकार रक्षकहरूको सवालमा कानुन बनाउन आवश्यक भएको बताउनु भयो ।

प्रदेश सांसद शारदादेवी थापाले कुनै पनि आन्दोलन वा मानव अधिकार उल्लङ्घनका घटनामा परेकालाई उद्धारमा हिँड्दा मानव अधिकारकर्मीहरू पनि सुरक्षित भएर काम गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुरका प्रमुख वीरबहादुर बुढामगरले मानव अधिकार रक्षकलाई निर्वाध रूपमा काम गर्ने वातावरणको निर्माण गर्न राज्य गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

बुढामगरले मानव अधिकार रक्षकहरू जहिले पनि जोखिममा हुने भएकाले उनीहरूको संरक्षण हुनुपर्नेमा जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मानव अधिकारको पक्षमा कामकाज गर्दा मानव अधिकारकर्मीहरू नै मानसिक तथा शारीरिक हिंसामा पर्ने गरेकाले मानव अधिकार रक्षकहरूको विषयमा सङ्घ तथा प्रदेश सरकारबाट कानुनको निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले मानव अधिकार रक्षकले मानव अधिकार रक्षकको संरक्षण तथा संबर्द्धनका लागि तयार पारिएको विधेयकलाई प्रदेश सरकारलाई अपनत्व ग्रहण गर्न आग्रह गर्नु भयो ।


अजयकुमार साह