मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला सुरु

  ०८० फागुन ८ गते

राष्ट्रिय मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला ०८० फागुन ८ गते काठमाडौँमा सुरु भएको छ । इन्सेक, राष्ट्रिय मानव मानव अधिकार आयोग र दान चर्च एड नेपालको संयुक्त संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रमको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दीप प्रज्वलन गरी गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार रक्षकले समाजमा सचेतनाको काम गर्नुपर्ने बताउनु भयो । नागरिकको अधिकार उपभोगको वातावरण सिर्जना गर्नु मानव अधिकारकर्मीको प्रमुख दायित्व भएको उहाँको भनाई छ ।

DSC_0434

मानव अधिकार संरक्षण, सम्मान र परिपूरणमा राज्यको प्रमुख दायित्व हुने अध्यक्ष मगरले बताउनु भयो । यसको लागि कानुनको परिपालन प्रमुख विषय रहेको उहाँको भनाइ छ । विज्ञान प्रविधिको विकासले सकारात्मक र नकारात्मक दुवै कुरा ल्याएको उहाँले बताउनु भयो । कतिपय काममा मानिसलाई विस्थापित गरिँदा श्रमको अधिकार खोसिएको बताउँदै उहाँले विज्ञान र प्रविधिको समुचित प्रयोग जरुरी रहेको प्रष्ट पार्नुभयो ।

मानव अधिकार रक्षकको सवालमा राष्ट्रिय मानव अधिकार आयोग निरन्तर लागिरहेको उहाँले बताउनु भयो । मानव अधिकार रक्षकहरूको काम, कर्तव्य र अधिकारको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले निर्देशिका नै जारी गरेको उहाँले स्मरण गराउनु भयो । मानव अधिकार रक्षकको रक्षाको प्रमुख दायित्व सरकारको भएको अध्यक्ष मगरले बताउनु भयो । ‘सरकारले मानव अधिकार रक्षकको सुरक्षा दिनुपर्छ, काम गर्दा धेरै जोखिम आइपर्न सक्छन्, ती जोखिमबाट बाँच्ने वातावरण सरकारले बनाइदिनुपर्छ’, उहाँले भन्नुभयो ।

मानव अधिकार रक्षकको रक्षा गर्ने कानुन बनाउनुपर्छ भनेर मानव अधिकार आयोग लागि रहेको उहाँले बताउनु भयो । आयोगले त्यसलाई अन्तिम रुप दिएर सरकारलाई बुझाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । मानव अधिकार रक्षकलाई सुरक्षित बनाउन सक्दा मात्र मानव अधिकारको क्षेत्रमा सकारात्मक काम हुने उहाँले प्रष्ट पार्नुभयो । यसले मानव अधिकार उलङ्घनका घटना कम गराउन सहयोग गर्ने मगरले बताउनु भयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले अहिले मानव अधिकारको वृत्त फराकिलो भएको बताउनु भयो । हिजो नागरिक, राजनीतिक अधिकारको विषयमा बढी केन्द्रित हुने गरेकोमा अब संविधानको मौलिक अधिकारका सबै विषयमा केन्द्रित हुनु पर्नेमा उहाँले जोड दिनुभयो । वातावरण परिवर्तनको कारण मानव जीवन नै सङ्कटमा परेकोले यो विषयलाई मानव अधिकारको विषय बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 'अब मानव अधिकारको रक्षक हुँ भन्नेले वातावरणको विनाशले गरेको विनाश बुझ्न सक्दैन भने त्यो मानव अधिकार रक्षक नै हुन सक्दैन’, अर्यालले भन्नुभयो । सामाजिक जीवन भित्र वातावरणको अधिकार पनि जोडिएको उहाँले बताउनु भयो । ‘वातावरणको अधिकार आधारभूत अधिकार हो’, उहाँले भन्नुभयो ।

DSC_0439

कार्यक्रममा गुड सेफर इन्टरनेसनल नेपालकी तस्किला निकोलसले मानव अधिकार नागरिकको अधिकार भएको बताउनु भयो । महिला, बालबालिका तथा सीमान्तकृत समुदायको मानव अधिकारका सवालमा आफूहरूले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

दान चर्च एड नेपालका कार्यक्रम प्रमुख विमल घिमिरे मानव अधिकार रक्षकहरूको भेलाले मानव अधिकारको विषयमा साझा बुझाइ हुने र मानव अधिकारको मुद्दामा अघि बढ्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मानव अधिकार वातावरण राष्ट्रिय सञ्जालका संयोजक अभयराज जोशीले वातावरणलाई जोगाउनु सभ्य समाज निर्माणको आधार भएको बताउनु भयो । स्वच्छ र दिगो वातावरण निर्माणको लागि खबरदारीले सरकारलाई जबाफदेही बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । कार्यक्रममा इन्सेकका ७७ ओटै जिल्लाका जिल्ला प्रतिनिधि, मानव अधिकारकर्मीहरू लगायतको सहभागिता रहेको छ ।


नवराज घिमिरे