मानव अधिकार रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले मानव अधिकारको पछिल्लो अवस्था र चुनौतिलगायतका विषयमा फागुन २७ गते नेपालगञ्जमा समीक्षा गरेको छ ।

SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES

मानव अधिकार रक्षकहरू पछिल्लो अवस्थामा जोखिममा पर्दै गएकोले रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जाने र मानव अधिकार रक्षकबिच एक आपसमा सूचना आदान प्रदान गर्ने मानव अधिकार सञ्जाल नेपालगञ्जले योजना बनाएको छ ।

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाको बन्दको विषयमा दुवै पक्षका जिल्ला तहका अगुवालाई फागुन २८ गते भेट गरी आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्न अनुरोध गर्ने मानव अधिकार सञ्जालले निर्णय गरेको छ ।

यसैगरी मधेसी मोर्चाका अगुवाहरूसँग नियमित भेटघाट गर्ने, कसैलाई धम्की आएमा तत्काल मानव अधिकार आयोगमा जानकारी गराउने मानव अधिकार रक्षकबिच सहमति भएको छ ।

समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक मुरारी खरेलले मानव अधिकार रक्षक असुरक्षित भएको अवस्थामा एक आपसमा सूचनाको आदान प्रदान गर्दै संयुक्त अनुगमनमा जानु पर्नेमा जोड दिए ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले मधेसी मोर्चाको आन्दोलनका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका बर्दिया, बाँके र दाङमा प्रभाव परेको बताउँदै मानव अधिकार रक्षकले आफू पनि सुरक्षित हुँदै सावधानी पूर्वक अनुगमन गर्नुपर्ने सुझाव दिए ।

यस वर्षको होली मिलन सामाजिक सदभाव बढाउन र राजनीतिक दलहरूबिचको सम्बन्ध राम्रो बनाउने गरी संयुक्त रूपमा नेपालगञ्जमा मनाउने सञ्जालले निर्णय गरेको छ ।


इन्सेक, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्ज