मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र खेलेको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था स्थापित भएको बताए । निर्देशक गौतमले समयानुसार दास्तावेजीकरणलाई डिजिटलाइज्ड गर्नुपर्नेमा जोड दिए । इन्सेक जिल्ला प्रतिनिधिले समय सापेक्ष आर्थिक समाजिक तथा सांस्कृतिक अधिकारका विषयमा समेत अभिलेखीकरण गर्नुपर्ने कुरामा गौतमले जोड दिए ।

photo20160926banke2

मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले मानव अधिकार वर्षपुस्तक र इन्सेक अनलाइनको काममा जिल्ला प्रतिनिधिहरूले थप सुधार गर्नुपर्ने बताए ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले जिल्ला प्रतिनिधिका समस्या पहिचान तथा सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । त्यसैगरी सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले भौगोलिक अवस्थालाई दोष दिएर कामबाट पन्छिन नमिल्ने बताए । उनले जिल्ला प्रतिनिधिहरूको कामको नियमित अनुगमन क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले गरिरहेको बताए ।

दुइ दिनसम्म सञ्चालन हुने कार्यशालामा मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेल, इन्सेक केन्द्रीय कार्यालयका विमलचन्द्र शर्मा र अनुज केसीलगायतले सहजीकरण गर्ने इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका ३४ जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिको सहभागिता रहेको छ ।


विनोद पाण्डे