मानव अधिकार निगरानी समूहका अध्यक्षको पहलमा अनसन तोडियो

मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष सुरेश यादवको पहलमा जनकपुरमा विगत १६ दिनदेखि जारी अनसन फागुन ६ गते तोडिएको छ । माघ २० गतेदेखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित नयाँ शक्ति पार्टीका कलामुद्धीन राइन र मिथिलेश्वर दासले जनकपुरको जनक चोकमा गरेको आमरण अनसन अध्यक्ष यादवको पहलमा तोडिएको हो ।

मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष यादवको विषेश सक्रियतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अनशनकारीहरूको अनसन तोडाएका हुन् । जनकपुर आएका उपप्रधानमन्त्री निधिसँगको बिहानैदेखिको प्रयासपछि आमरण अनसन तोडिएको हो । अध्यक्ष यादवका अनुसार आफू अनशन बारे बिहानै उपप्रधानमन्त्री निधिसँग भेट गरी अनसनकारीको स्वास्थ्यलगायतका विषयमा छलफल गर्दा टुङ्गो नलागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गरी अनसन तोडाउने भन्दै रिसाएपछि निधिले अनशन तोडाउन सहमत भएका थिए ।

उपप्रधान एवं गृहमन्त्रीले अनसनकारीको मागबारे सकारात्मक भएपछि शर्मासहितका अनसनकारीहरू अनसन तोड्न राजी भएका थिए । शर्मा, राइन र दासले जनकपुरको विकासका लागि भन्दै सात बुँदे माग राखी माघ २० गतेदेखि आमरण अनसन सुरु गरेका थिए ।

उपप्रधान तथा गृहमन्त्री निधिले अनसन स्थल पुगेर अनसनकारीहरूसँग वार्ता गरी सात बुँदे लिखित सहमति गरे । गृहमन्त्री निधिले माग सम्बोधनका लागि तीन दिनभित्र नेपाल सरकारको सचिव स्तरीय सात सदस्यीय समिति गठन गरी एक महिनाभित्र मागहरूको कार्यान्वयनका लागि उपयुक्त प्रक्रिया अपनाउने सहमति गरे । लिखित सहमति भएपछि मन्त्री निधिकै हातबाट जुस पिएर उनीहरूले अनसन तोडेका हुन् ।

अनसन तोडिएपछि तीनैजनालाई स्वास्थ्य उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

 


विनोदकुमार रविदास