मानव अधिकार निगरानी समूहको बैठक खर्च–विपन्न महिलाको उपचारमा

  ०७८ असार १५ गते

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराजमा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चको रकम असार १४ गते एक विपन्न महिलालाई प्रदान गरिएको छ ।

मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च बापत जम्मा भएको ५ हजार रुपियाँ राजविराज नपा–९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो ।

photo20210629saptari (1)

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल र समूहका सहस्यहरूका साथ पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गर्नु भयो ।

उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा र मिर्गौलाको बिरामी मेहताले समूहबाट प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनु भयो ।

photo20210629saptari (3)

आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको उहाँले जानकारी दिनु भयो । निगरानी समूहका सदस्यसमेत रहनु भएका उहाँका पति उपेन्द्रनारायण मेहताको वैशाख १३ गते मृत्यु भएपछि उहाँलाई उपचारमा थप समस्या भएको बताउनु भएको छ ।

इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरे अनुसार उहाँको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिनु भयो ।

photo20210629saptari (2)


मनोहरकुमार पोखरेल