मानव अधिकार आयोग र इन्सेकद्वारा कारागारको संयुक्त अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा आयोग र इन्सेकको टोलीले जेठ २ गते चौतारा कारागारको अनुगमन गरेको छ ।

३२ जना कैदी र ८३ जना बन्दी गरी १ सय १५ जना पुरूषलाई राखिएको चौतारा कारागारमा कैदीबन्दीलाई बस्न कठिनाई भएको पाइएको अनुगमनबाट फर्किएपछि आयोग सदस्य पाठकले बताए ।

कैदी बन्दीका लागि कुनै सीपको विकास र पत्रपत्रिका तथा पुस्तकालय नरहेको अनुगमनकोे क्रममा देखिएकोले स्रोतकोे खोजी गरी पुरा गर्न आयोगका सदस्य सुदिप पाठकले प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई सिफारिस गरे ।
विनाशकारी भूकम्पले ध्वस्त भएको चौतारा कारागारमा कैदीबन्दीलाई राख्ने ठाउँ नहुँदा यस्तो समस्या भएको तर महिला गृहलाई मर्मत गरी यस वर्षदेखि पुरूष बन्दीलाई राख्न सुरू गरिएको र महिला बन्दीहरूलाई अन्य जिल्लामा पठाउने गरेको जेलर विशेश्वर रेग्मीले बताए ।

अर्को कारागार भवन बनाउने तयारी पूरा भएको भन्दै तत् पश्चात कैदीबन्दीहरूको व्यवस्थापनमा सहजता हुने प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन् ।


नातिबावु धिताल