मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

  ०७३ फागुन ४ गते

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले फागुन ४ गते जिल्ला कारागारलगायत जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरी कार्यालयबाट प्रवाह हुने सेवा मानव अधिकारमैत्री भए नभएको विषयमा जानकारी लिएको छ ।

आयोगको टोलीले अनुगमनका क्रममा सरकारले तयार पारेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि सरकारी निकायलाई निर्देशन दिएको जनाएको छ ।

मानव अधिकार संरक्षण र सम्बर्धनका लागि छिटो छरितो, सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न आयोगको टोलीले आग्रह गरेको छ । मानव अधिकार टोलीले प्रत्येक कार्यालयमा पुगेर अनुगमन तथा भेटघाट गर्ने क्रममा कार्यालय प्रमुखहरूले मानव अधिकारको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सर्वसाधारणलाई आफ्ना सेवाहरू प्रदान गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयमा पुगेको मानव अधिकार टोलीसमक्ष सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुरुप नियमित कार्यसम्पादन गरिएको भएपनि सोही अनुरुप अभिलेखीकरण नहुँदा कार्ययोजना कार्यन्वयन प्रभावकारी नदेखिएको बताए ।

आयोगका मानव अधिकार अधिकृत टङ्क खनालको नेतृत्वमा डोल्पामा आएको टोलीले फागुन ४ गते जिल्ला कारागारको अनुगमन गरेर भौतिक संरचना, कैदी बन्दीको समस्या तथा उनीहरूमाथि गरिने व्यवहारलगायत समग्र अवस्थाको बारेमा जानकारी लिएको जनाइएको छ ।

'ड' वर्गको कारागारको क्षमता २५ जना रहेकोमा हाल ३१ जना बन्दी रहेका छन् । जीर्ण भौतिक संरचना भएको कारागारमा क्षमता भन्दा बढी बन्दीलाई राखिनु मानव अधिकार विपरीत भएकाले उनीहरूलाई सुरक्षित र सहज बसाइको वातावरण बनाउन सम्बन्धित निकायलाई अनुगमन टोलीले ध्यानाकर्षा गराएको छ । मानव अधिकार टोलीसमक्ष बन्दीका नाइके धार्के लामाले सामान्य बिरामी हुँदा आवश्यक औषधि नपाउने गरेको र पाएपनि महङ्गो भएकाले मेडिकलबाट किनेर खानसक्ने अवस्था नरहेको गुनासो गरे ।

कारागारमा एचएको दरबन्दी भएपनि कार्यरत नहुँदा नियमित स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको कैदी बन्दीहरूले गुनासो गरे । लामाले डोल्पा जस्तो दुर्गम ठाँउमा सरकारले उपलब्ध गराउँदै आएको दैनिक भत्ता ४५ रुपियाँले दैनिक खर्च र्टार्न समस्या भएकाले रकम बढाइदिन आवश्यक पहल गर्न आयोगसँग आग्रह गरे ।

औषधि खर्चका लागि आउने बजेट थोरै भएको र भएको बजेट सकिएकाले थप औषधि खरिदमा समस्या भएको कारागारका निमित्त प्रमुख दिलबहादुर बरालले बताए ।


विष्णुप्रसाद देवकोटा