मानव अधिकारप्रति सरोकारवाला निकायद्वारा सामूहिक प्रतिबद्धता व्यक्त

  ०७३ मङ्सिर २४ गते

मानव अधिकारको सम्मान र संरक्षणका लागि सरोकारवाला निकायद्वारा सामूहिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अधिकार रक्षक दिवस तथा ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २४ गते  मानवअधिकार अवस्था र रक्षकका चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकको सुरक्षा र मानव अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

photo20161209banke

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले मानव अधिकार अवस्थाबारे अवधारणा प्रस्तुत गर्दै समग्रमा मानव अधिकार अवस्था सन्तोषजनक नभएको तथा आयोगले अनुसन्धान गरी नेपाल सरकारलाई गरेका सिफारिससमेत कार्यान्वयन नहुँदा दण्डहीनताको संस्कृति कायमै रहेको बताए ।

उनले तुलनात्मक रूपमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमी आएपनि प्रवृत्तिहरूले निरन्तरता पाएको बताउँदै शिक्षा, स्वास्थ्य, खाद्यलगायतका आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको परिपूर्तिमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए । उनले संविधान निर्माणपछि त्यसको कार्यान्वनयनका चरणमा भएका घटनाबाट मानव अधिकारको उल्लङ्घन भएको बताए ।

कार्यक्रममा बोल्दै निमिक्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले सरकारी निकायले चोथौ पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुसार कार्यसम्पादन गर्दै मानव अधिकारमैत्री सेवा प्रवाहका लागि प्रतिबद्धता व्यक्त गरे । उनले घर घरबाट मानव अधिकारको सम्मान गर्ने वातावरण बनाइनु पर्नेमा जोड दिएका थिए ।

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिलाल जोशीले सम्मान, संरक्षण, सम्बर्द्धन र सम्बोधन भएमा मानव अधिकारको पालना हुने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले नेपाल प्रहरी मानव अधिकार रक्षाका लागि सदैव क्रियाशील रहेको र प्रहरी निकायबाट मानव अधिकार तथा मानव अधिकार रक्षकको लागि उच्च सम्मानका साथ काम गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाली काङ्ग्रेस जिल्ला समिति सभापति किरण कोइरालाले सबैले मानव अधिकारको उपभोग गर्ने वातावरण निर्माणका लागि सरोकारवाला निकायले आफ्नो जिम्मेवारी बहन गर्नु पर्नेमा जोड दिइन् । नेकपा एमालेका जिल्ला उपाध्यक्ष निरक गुरूङले मानव अधिकारप्रति राजनीतिक दलहरूको प्रतिबद्धता कार्यान्वयन भए नभएको सम्बन्धमा खबरदारी गर्नु पर्ने बताए ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले मानव अधिकार रक्षकहरूले आफ्नो अधिकारको उपभोग गर्दा कर्तव्यको समेत पालना गरेमा तथा सरोकारवाला निकायले कानुनको उच्च सम्मान तथा पालना गरेमा मात्र मानव अधिकारको सम्मान हुने बताए ।


विनोद पाण्डे