मानव अधिकारको सम्मान र संरक्षण हुनेमा आयोग विश्वस्त

राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भएकोमा खुशी व्यक्त गरेको छ ।

आयोगले असोज ३१ गते विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाको क्रममा नेपाल सरकारको कुटनीतिक पहलको सरहाना गर्दै नेपाललाई निर्वाचित गराउन सहयोग पुर्‍याउने राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूप्रति आभार प्रकटसमेत गरेको छ ।

मानव अधिकार परिषद्मा नेपालको उपस्थितिले देश भित्रको विद्यमान दण्डहीनताको अन्त्यका लागि महत्वपूर्ण योगदान पुग्न सक्ने अपेक्षा आयोगले गरेको आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले बताइन् ।

'देश भित्र यातना, गैरन्यायिक हत्यालगायतका गम्भीर एवम् जटिल स्वरूपमा रहेको सङ्क्रमणकालीन न्यायको प्रभावकारी र मान्य सम्बोधन, मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मानमा पनि नेपाल सरकारको पर्याप्त ध्यान पुग्ने छ भन्नेमा आयोग विश्वस्त छ ।'-विज्ञप्तिमा भनिएको छ ।

मानव अधिकार परिषद्मा नेपालको उपस्थितिले अन्तर्राष्ट्रिय जगतमा यसको सम्मान र संरक्षण तथा आयोगले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि विगतमा गरेका सिफारिसहरूको कार्यान्वयन, मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाहरूको क्रममा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धताहरूको कार्यान्वयन र कानुनी शासनमासमेत उल्लेखनीय प्रगति हुनेमा आयोग विश्वस्त रहेको जनाइएको छ ।

मानव अधिकार परिषद् विश्वभरको मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायका लागि नेपाल सन् २०१८ देखि २०२० सम्मको कार्यकालका लागि एशियाली समूहबाट निर्वाचित भएको हो ।


सुभाष साह