मानव अधिकारका सवालहरु समाधान गर्न सामुहिक प्रयास आवश्यकः मन्त्री धामी

  ०७८ असार २९ गते

मानव अधिकारका सवालहरु समाधान गर्न  सामुहिक  प्रयास आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताउनु भयो ।

इन्सेक दार्चुला प्रतिनिधिले असार २९ गते सदरमुकाम खलंगामा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्ध वार्षिक पूर्व समीक्षा गोष्ठीमा मन्त्री धामीले सो बिचार व्यक्त गर्नु भएको हो ।

उहाँले भन्नु भयो– ‘मानव अधिकारको विषयवस्तु निकै गम्भीर छन् । नागरिकलाई मानव अधिकारको प्रत्यभूति गराउन तीन तहकै सरकार प्रतिवद्ध हुनु पर्छ । तीन तहका सरकारबिच तालमेल नहुँदा केही समस्या भएको भएपनि सुदूरपश्चिम प्रदेश सरकार मानव अधिकारको रक्षा गर्न प्रतिवद्ध छ ।’

महिला मानव अधिकारको सुरक्षा तथा पीडित महिलाको लागि सुरक्षित आवास गृह आवश्यक भएको बताउँदै जग्गा उपलब्ध हुन सक्ने सुदूरपश्चिम प्रदेश सरकारले आवास गृह निर्माण गर्न सक्ने मन्त्री धामीले बताउनुु भयो ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मानव अधिकारको विषय कार्यान्वय गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ मानव अधिकारको सम्बोधनका लागि साझा प्रयास र प्रतिवद्धताको आवश्यकता छ । जिल्ला तहमा देखिएका समस्याहरु सम्बोधन गर्न प्रतिवद्ध छु ।’

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले सन् २०२१ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका २९ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु पुष्टि तथा पुर्नपुष्टि गर्नका लागि प्रस्तृत गर्नु भएको थियो । जसमा जबरजस्तीकरणीका पाँच, हत्याका दुई, बहुविवाहका दुई र घरेलु हिंसाका २० ओटा घटनाहरु रहेका छन् ।

इन्सेक प्रतिनिधिले प्रस्तुत गर्नु भएका अधिकांश घटनाहरु ज्यादतीसँग सम्बन्धीत भएकाले यस प्रकारका घटनाहरुको अन्त्य गर्नका लागि मानव अधिकार तथा कानुनी शिक्षाका सम्बन्धमा स्थानीय स्तरमा अभिमूखिकरण गर्न आवश्यक रहेको अधिवक्ता हरिशचन्द्र जोशीले बताउनु भयो ।

महिला अधिकारकर्मी हिरा अवस्थीले महिला अधिकारको अवस्था दयनिय रहेको बताउँदै घटनाको राजनीतिकरण हुँदा पीडित पक्षले न्याय पाउन नसकेको र महिलालाई कानुनी शिक्षाको लागि बजेट नहुँदा अधिकार तथा कर्तव्यका बारेमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न समस्या भएकोले प्रदेश सरकारले बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20210713darchula (2)

photo20210713darchula (3)


नरेन्द्रसिह कार्की