मानव अधिकारकर्मीहरूद्वारा बाल सुधार गृहको अनुगमन

  ०७८ मङ्सिर २३ गते

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरमलगायत मानव अधिकार सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २३ गते  बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधार गृहको अनुगमन गरेका छन् ।

अनुगमन टोलीले बाल सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरलाई भेटेर सुधार गृहमा भएको समस्याका विषयमा जानकारी लिनुका साथै सुझावसमेत दिएका थिए ।

अनुगमनका क्रममा भवन निमार्णमा ढिलाई हुँदा बालकहरूलाई सुत्न गाह्रो भएको, छाला रोगको समस्या देखिएको र अध्ययनरत विद्यार्थीहरूलाई केही पाठ्यपुस्तककोसमेत अभाव रहेको पाइएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

photo2021120902banke

बाल सुधार गृहकी इन्चार्र्ज विमला काउचामगरले सुधार गृहमा सुत्ने कोठा र जाडोको कपडाको कमि भएकोले समस्या देखिएको बताउनु भयो । मगरले सुरक्षाकर्मीको दरबन्दी नभएकोले हाल बाल सुधार गृहमा ११ जना सुरक्षाकर्मीहरूले मात्र सुरक्षा दिइरहेको बताउनु भयो ।

७० जनाको क्षमता भएको बाल सुधार गृहमा १ सय ७५ जना बालकहरू रहेका छन् ।  क्षमता भन्दा बढी सङ्ख्यामा बालकहरू रहेकोले भौतिक व्यवस्थापन गर्नमा कठिनाई भएको छ ।

बाल सुधार गृहका शिक्षक विजयप्रसाद मुराउका अनुसार सुधार गृहमा रहेका बालकहरूलाई डुडुवा गाउँपालिका–६ स्थित सरस्वती माविमा  भर्ना अध्ययन गरीरहेका छन् ।

कक्षा ५ मा आठ जना , कक्षा ६ मा नौ जना ,कक्षा ७ मा २१ जना , कक्षा ८ मा १६ जना, कक्षा ९ मा १५ जना , कक्षा १० मा तीन जना, कक्षा ११ मा दुई जना र कक्षा १२ मा दुई जनाले सुधार गृहबाट अध्ययन गरी रहेका छन् । सुधार गृहमा कक्षा ७ , ८ र ९ का केही विद्यार्थीहरूलाई पाठ्य पुस्तक नपुगेकाले सहयोग गरिदिन अधिकारकर्मीहरूलाई आग्रह गर्नु भयो ।

16 days campaignNepali

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकर रावलले बाल सुधार गृहको समस्या समाधान गर्नमा  सम्बन्धीत निकायमा पहल गर्ने बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले बालकहरूमा देखिएको छाला रोगको उपचारका लागि इन्सेकले पहल गर्ने बताउनु भयो ।

अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकरबहादुर रावल, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत , एडभोकेसी फोरमका संयोजक बसन्त गौतम र इन्सेक बाँके प्रतिनिधि स्मृति देवकोटा रहेका थिए ।


स्मृति देवकोटा