मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग

बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।

मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, केन्द्रीय सदस्य सुर्यकुमारी शाही, जिल्ला अध्यक्ष रोमकान्त घिमिरे तथा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल सम्मिलित टोलीले कार्तिक १ गते उक्त घटनाका सम्बन्धमा स्थलगत अनुगमन गरेपछि यस्तो माग गरेका हुन् ।

पीडित महिला असोज २७ गते राति १२ बजे पछि घरैबाट हराएकोमा असोज २८ गते बिहान ७ बजे घर नजिकैको किम्बुको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

पीडित महिलाको गोडाले भुँइ छोएकाले घटना शङ्कास्पद बनेको अधिकारकर्मीको टोलीको निश्कर्षछ । 'झुण्डिएको रुख ५ फिट अग्लो रहेको छ । तर, मृतक बेल्वासेको उचाई ५ फिट ४ इञ्च छ । त्यसैले घटना शङ्कास्पद बनेको हो ।'- मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेलले बताए ।

स्थानीयका अनुसार घटना रहस्यमय हुँदाहुँदै प्रहरीले परिवारका सदस्य तथा स्थानीयसँग सरोकार नराखी प्रहरीले पोष्टमार्टम गराएको थियो ।

पोष्टमार्टमपछि दाहसंस्कारका लागि जबरजस्ती आफन्तलाई दिएको भन्ने विषयमा मानव अधिकारकर्मीहरूको चासोको विषय बनेको अधिकारकर्मीहरूद्वारा कार्तिक १ गते जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पीडित महिलाका पति भविश्वर बेल्वासेले पत्नीको हत्या रहस्यमय तरिकाबाट भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका थिए । तर, प्रहरीले घटनालाई सामान्य रूपमा लिएर अनुसन्धान नगरेको भन्दै परिवारका सदस्य तथा स्थानीयले असोज ३० गते घरमै पत्रकार सम्मेलन गरी घटनाका दोषी सार्वजनिक गर्न माग गरेका थिए ।


नन्दराम पौडेल