माझी दम्पतिको पीडाः दिनभरि गासको चिन्ता, रातभरि बासको !
कुश्मा नपा-१ भएर बग्ने कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनाका २८ माझी परिवार मजदुरी गरेर बस्दै आएका छन् । ति मध्ये एक दम्पति परिवारको कथा दर्दनाक छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुङ्गा गिट्टीको काम गर्न बिहानै निस्किने दम्पतिलाई बेलुकी बस्ने बासको समस्याले पिरोलिरहन्छ ।
६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया पत्नी चन्द्रकुमारी माझी दुई वर्षदेखि ओढारमा दैनिकी गुजारिरहेका छन् । दुई वर्षअघिदेखि ओढारमा बस्दै आएका माझी दम्पतिको सम्पति भनेकै सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर-सामान र दुःखजिलो गरी सुत्ने ठाउँ मात्र ।
०७२ साउन ३ गते घर, सम्पति पहिरोमा गुमेपछि बागलुङ-पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पति आफ्नै थातथलोमा पनि 'शरणार्थी' झैँ बनेका छन् । बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर गतिलो सुत्ने बास नहुँदा पिरलोमा पर्दै आएको उनीहरू बताउँछन् । मालढुङ्गा-बेनी सडक खण्डको माथि पाङबाट खसेको पहिरोले माझीको घरबास उठाएयता उनीहरू सो ओढारमा बस्दै आएका हुन् ।
घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले आफूहरूको यस्तो हालत हुँदा पनि राज्यले आफूहरूलाई नहेरेको गुनासो पोखिन् । उनीहरूका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् । दुई छोरीहरूको विवाह भइसकेको छ । बुढेसकाल लाग्ने बेलामा परिवारबाट एक्लिएका माझी दम्पतिको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो ।
'बालुवा, गिटी गरेर छाक टार्दै आएका छौँ ।'-चन्द्रकुमारीले भनिन्-'हामी पुरानै बासमा फर्कन चाहन्छौँ । तर, घर केले बनाउने ? हाम्रो उपाय छैन ।' यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्तौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरूले आफूहरू राज्यबाट उपेक्षामा परेको गुनासो गरेका छन् । 'फोटो खिच्न र पिडा सुन्न धेरै आए तर ओढारबाट बाहिर निकाल्न कसैले सकेनन् हामीलाई ।'-चन्द्रकुमारीले भनिन् । छिटपुट राहत पाए पनि पहिरोबाट विस्थापितहरूको पुनर्वास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानध्यापक तेजेन्द्र आचार्यले बताए । 'परिवारको अवस्था साह्रै दयनीय छ । बस्ने बास समेत गुमेपछि यो अवस्था आयो ।'-उनले भने ।
पाङको पहिरोले घरमा भएको अलिअलि सम्पति पनि पहिराले पुरेको बताउँछन् माझी दम्पति । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरू शिक्षा, स्वास्थ्य, खाद्यलगायत राज्यले प्रदान गर्ने सबै मौलिक अधिकारबाट वञ्चित छन् ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…