माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच झडप पाँच जना घाइते

  ०७९ वैशाख २९ गते

चौरजहारी नगरपालिका–१० खोलागाउँमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र काङ्गे्रस कार्यकर्ताबीच वैशाख २८ गते झडप भएको छ । झडपमा दुबै तर्फका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौन अवधिमा दुवै पार्टीका कार्यकर्ता चुनाव प्रचारप्रसार गरेको र आपसमा झडप गर्दा काँग्रेस र माओवादीका कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी बिष्णु सोतीले जानकारी दिनुभयो ।

झडपमा दुवै तर्फका अध्यक्षका उम्मेद्वार सोही स्थानमा भएपनि झडप नियन्त्रण नगरेको र झडपले उग्ररुप लिएपछि दुवै तर्फका उम्मेद्वारलाई प्रहरी चौकीमा लगि सम्झाई बुझाई गरी पठाइएको डीएसपी सोतीको भनाई छ ।

झडपमा घाइते हुनेमा नेपाली काँग्रेसका कार्यकर्ता डिल्ली केसी, लालबिर ओली, डायमण केसी, नेकपा माओवादी केन्द्रका कार्यकर्ता तुल्सीराम बुढा र जुद्धबहादुर घर्ती रहेको डीएसपी सोतीले जानकारी दिनुभयो ।

घाइतेहरूको टाउको, कान, हातखुट्टामा चोट लागेको र उनीहरूको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि रुकुम पश्चिममा प्रहरी प्रधान कार्यालयबाट एसपी डम्बरबहादुर बिकलाई खटाइएको छ । निर्वाचनको समयमा थप हुनसक्ने सम्भावित चुनौतीलाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयले एसपी बिकलाई खटाएको जनाएको छ ।

यस्तै स्थानीय तहको निर्वाचन अनुगमन गर्न कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कुप्रसाद आचार्य र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशका उपसचिव केशबप्रसाद उपाध्यायको टोली रुकुम पश्चिम आइपुगेको छ । उक्त टोली जिल्लाका मतदान स्थलहरूको अनुगमनमा रहेको प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले जानकारी दिनुभयो ।
Rukum West_2022-05-12. RukumWest_2022-05-12


मनिषा केसी