माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारलाई कुटपिट

  ०७४ जेठ २३ गते

मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले दाङको राप्ती गाउँपालिकाका नयाँ शक्ति पार्टी नेपालबाट अध्यक्ष पदका उम्मेदवार ५३ वर्षीय नन्दकुमार चौधरी र सो पार्टीका राप्ती गाउँपालिका संयोजक ४६ वर्षीय होमप्रसाद शर्मालाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

जेठ २२ गते चुनावी घरदैलो सकेर घर फर्कने क्रममा बिरामी मामा भगत चौधरीलाई भेट्न राप्ती गाउँपालिका-२ कटाहा गाउँ पुगेका चौधरी र शर्मालाई माओवादी केन्द्र राप्ती गाउपालिकाका संयोजक धर्मराज अधिकारी र वाइसिएल इञ्चार्ज दीपक पुनको नेतृत्वमा आएको एक समूहले लात्ती र मुक्का प्रहार गरी कुटपिट गरेको नयाँ शक्ति पार्टी नेपाल दाङले जेठ २३ गते घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

आधा घण्टासम्म नियन्त्रणमा लिएर कुटपिट गरेको र प्रहरी आएपछि आफूहरूलाई उद्धार गरेको पीडित शर्माले बताए । 'हामी पैसा बाँड्न गएका होइनौँ । मेरा मामा भगत चौधरीको उपचारकालागि भाइ रामशङ्कर चौधरीलाई एकहजार दिएको हुँ ।'-गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चौधरीले भने-'तर, माओवादी केन्द्रका कार्यकर्ताहरूले हाम्रो चरित्र हत्या गर्ने हिसावले पैसा बाँडेको भन्दै कुटपिट समेत गरे । हामीलाई मार्ने हिसावले उनीहरू आक्रमणमा उत्रिएकाले अबिलम्ब कारबाही होस ।'

यसैबिच नयाँ शक्ति नेपाल दाङले पार्टीले राप्ती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तथा नेतामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । पार्टीका जिल्ला संयोजक नारायण भट्टराई र सङ्घीय समाजवादी फोरमका जिल्ला इञ्चार्ज अशोक यादवले संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीहरूलाई तत्काल कारबाहीको माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य निर्मल आचार्यले उम्मेदवारमाथि हातपात हुनु गलत काम भएपनि पैसा बाँड्न थालेपछि माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध गरेको बताए ।


जे.एन.सागर