माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

  ०७४ मङ्सिर १ गते

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात समूहले कात्तिक ३० गते बम विष्फोट भएको छ ।

'सिल्भरको भाँडामा विष्फोटक पदार्थ राखेर पड्काएको पायौँ ।'-जिल्ला प्रहरी कार्यलयका एसपी प्रकाश अधिकारीले भने-'हाम्रो प्रारम्भिक अनुसन्धानमा रिमोटबाट बम पड्किएको भन्ने छ । सिल्भरको भाँडा टुक्राटुक्रा भएकाले कस्तो बम हो भनेर अनुसन्धान पछि मात्र भन्न सक्छौँ ।'

गोरखा नपा-११ छेवेटारस्थित सिर्दिखोलामा बम विष्फोट भएको थियो । विष्फोटका कारण श्रेष्ठको चुनावी प्रचारमा गएको बा २ च ९४६३ नम्बरको गाडीको अगाडिको सिसा फुटेको एसपी अधिकारीले बताए ।

सो गाडी माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार नरबहादुर गुरूङ र एमाले जिल्ला नेता विकलकुमार श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।

प्रहरीका अनुसार उम्मेदवारलगायतको टोली घटनास्थल भन्दा केही मिटर पर बैठक बस्न थालेपछि गाडी सिर्दिखोलामा धुनका लागि ल्याएको समयमा बम विष्फोट गराइएको हो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


हरिराम उप्रेती