माओवादी कार्यकर्ताको आक्रमणबाट वडाध्यक्षका उम्मेदवार सहित चारजना घाइते

  ०७९ वैशाख १८ गते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको आक्रमणमा परी वैशाख १८ गते नेपाली कांग्रेसको तर्फबाट आठविसकोट नगरपालिका–८ का वडाध्यक्षका उम्मेद्वार ४२ वर्षीय चन्द्रबहादुर बुढा सागर, नेपाली काँग्रेसका वडा सभापति तथा वडा सदस्यका उम्मेदवार ३३ वर्षीय रणबहादुर बोहरा, कांग्रेस कार्यकर्ताहरु ३२ वर्षीय माङ्ने बुढा, ४२ वर्षीया लालबहादुर बुढा र ५८ वर्षीय अमर बोहरा घाइते हुनुभएको छ ।

चुनावी प्रचारप्रसारको लागि सल्लाह गर्न अमर बोहराको घरमा बसेको र खाना खानको लागि हात धुन बाहिर निस्केको बेलामा घरपछाडि लुकेर बसेका माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको घाइते अमर बोहराले आरोप लगाउनु भयो ।

बाहिर हात धुन निस्केका कार्यकर्तालाई आक्रमण गरेपछि भित्र बसेका कार्यकर्ताहरू डरले ढोका थुनेर भित्र लुकेपनि झ्याल ढोका फोरेर भित्र पसी भाँडाकुडा समेत फालेर कुटपिट गरेको उहाँले बताउनु भयो ।

वडाध्यक्षका उम्मेदवार चन्द्रबहादुर बुढा सागर माओवादीबाट कांग्रेस प्रवेश गरेकोले उनीहरू आत्तिएर प्रतिशोध साँध्न आक्रमण गरेको काङ्ग्रेसले आरोप लगाएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू आठविसकोट नगरपालिका–८ का अजय चनारा, मनोज चनारा, गोपाल बिक, हरि चनारा र तिलक चनाराको समूहले आफूहरूलाई आक्रमण गरेको घाइते अमर बोहराले आरोप लगाउनु भयो ।

रणबहादुरको टाउकोमा गम्भीर चोट लागेको र अन्य कार्यकर्ता सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनु भयो ।

आक्रमण गर्नेहरूको विवरण आधिकारिक रूपमा प्राप्त नभएको तर मौखिक उजुरीका आधारमा उनीहरूको खोजी कार्य भने सुरु गरिएको उहाँको भनाइ छ ।

घाइतेहरूको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको नगर अस्पतालका प्रमुख धनन्जय रिजालले जानकारी दिनु भयो ।


मनिषा केसी