महोत्तरीमा कोभिड–१९ को खोप आपूर्ति, भण्डारण र वितरणबारे अनुगमन

  ०७८ साउन १२ गते

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित प्रदेश २ स्तरीय परामर्श तथा अनुगमन समितिको टोलीले साउन १० गते महोत्तरीमा कोभिड–१९ को खोप आपुर्ति, भण्डारण र वितरणको अवस्थाबारे अनुगमन गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ प्रमुख राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत मनमाया राना मगर, राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश २ अध्यक्ष किरण पासवान, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत राजिव कर्ण र इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह सम्मिलित टोलीले जनस्वास्थ्य कार्यालय महोत्तरमा पुगी कोभिड–१९ विरुद्धको खोप आपूर्ति, भण्डारण र वितरणको अवस्थाबारे अनुगमन गरेको हो ।

सो क्रममा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि दोस्रो डोज अहिलेसम्म नआएको जानकारी दिनु भयो ।

उहाँले जिल्लामा २५/२६ हजार व्यक्तिमा दोस्रो डोज खोप लगाउन बाँकी रहेको बताउनु भयो । न्यौपानेले अहिले ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिका लागि जोन्सन एन्ड जोन्सन खोप आएको बताउँदै यस खोपमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेत खोप दिइने बताउनु भयो ।

क र ख वर्गका अपाङ्गता भएका व्यक्तिलाई खोप दिइने उहाँको भनाइ छ । खोप लगाउनको लागि जिल्लामा ८१ वटा खोप केन्द्रको व्यवस्थापन गरिएका उहाँले जानकारी दिनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले महोत्तरीमा नागरिकता हेरेर ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको र यहाँ खोप भण्डारणको लागि तापक्रम मिलाएर खोप भण्डारण गर्ने व्यवस्था रहेको बताउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत लक्ष्मेश्वर झाले जोन्सन एण्ड जोन्सनको ७ हजार भायल खोप आएकोमा यसले ३५ हजार व्यक्तिलाई खोप दिन पुग्ने बताउनु भयो ।

महोत्तरीमा साउन १४ र १५ गते खोप लगाउने कार्यक्रम तय गरिएको जनाउँदै उहाँले आएको जति खोपको भण्डारण गर्न मिल्ने गरी ७ सय लिटर क्षमता भएको चिस्यान केन्द्र रहेको बताउनु भयो ।

अहिले पनि ग्रामीण भेगमा खोप लगाउनु पर्छ भन्ने चेतनाको विकास नै नभएकाले ग्रामीण तहमा खोपबारे जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

टोलीले धनुषाको जनकपुरधामस्थित मुजेलीयामा रहेको चिस्यान केन्द्रको पनि अनगुमन गरेको थियो ।


अजयकुमार साह