महोत्तरीको भरतपुरमा प्रहरीको सामुन्ने बालविवाह

भरतपुरमा प्रहरीको सामुन्ने दाइजोसहित बालविवाह गराइएको छ । असोज २७ गते कान्तिबजार स्थित शिव मन्दिरमा प्रहरी चौकी कान्तिबजारका असई लक्ष्मी राउतको आँखै अगाडि एक जोडी बालबालिकाको विवाह गराइएको हो ।

प्रहरी चौकी कान्तिबजार भन्दा ५ सय मिटरको दुरीमा रहेको शिव मन्दिरमा भरतपुर-६ डुबरबन्हाका १६ वर्षीया बालिका र भरतपुर-९ पडोरियाका १६ वर्षीय बालकबिच विवाह गराइएको हो ।

बालकका बावुले समाजका सामुन्ने बालिकाका बावुसँग २ लाख रुपियाँ दाइजो माग गरेको र सो दाइजो रकम केटी पक्षले उपलब्ध गराएपछि उनीहरूको बिचमा विवाह भएको हो ।

बाल विवाह नभएसम्म प्रहरी चौकी कान्तिबजारका असई लक्ष्मी राउत पनि घटनास्थलमै थिए । 'दाइजो सहितको बालविवाह हुँदासमेत प्रहरीले सो विवाह रोक्नको लागि किन पहल गर्नुभएन ?'-पत्रकारले सोधेको प्रश्नको जवाफमा असई राउतले भने-'कतैबाट पनि यो विवाह रोक्नको लागि लिखित रूपमा जानकारी नआएकोले आफूले तत्काल केही गरिनँ ।'

विवाह हुनुभन्दा केही घण्टा पहिले प्रहरी चौकी कान्तिवजारमा दुबै जना बालबालिकालाई स्थानीयबासीको रोहवरमा सम्झाई बुझाई आआफ्ना बावुको जिम्मा लगाइएको असई राउतले बताए ।

बालक र बालिकाले कुनै पनि हालतमा आफूहरू छुट्टएिर नबस्ने जनाएपछि उनीहरूको विवाह राजीखुसी मै भएको असई राउतले प्रतिक्रिया दिएका छन् ।

संविधानको भाग ३ धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनिएको छ ।


अजयकुमार साह