महिला हिंसा र मानव बेचबिखनविरुद्ध महिला अधिकारकर्मी

  ०७९ जेठ ३१ गते

जिल्लाका महिला अधिकारकर्मीहरूले जेठ ३० गते जिल्लामा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी घटनामा गम्भीर हुन सुरक्षा प्रशासनलाई आग्रह गरेका छन् ।

जिल्लामा पछिल्लो समय मानव बेचबिखन, शरीर बन्धक, श्रम शोषण तथा जबरजस्ती करणीका घटनाहरू बढेको भन्दै त्यसतर्फ उच्च निगरानीका लागि प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

जिल्लामा रहेका महिला अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारी सुशीला वैद्यलाई ज्ञापनपत्र बुझाउँदै महिला हिंसा, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका अपराध नियन्त्रणका लागि प्रहरी प्रशासन थप सक्रिय हुनपर्ने माग गरेका हुन् ।

केहि समयअघि मात्रै जिल्लाको बेसीशहर नपा–१, उदिपुरमा भएको मानव बेचबिखनसम्बन्धी घटनालाई जोड्दै उनीहरूले घटनाको विषयमा प्रहरीको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यसैगरी चार वर्षअघि सदरमुकाम बेसीशहरस्थित जनविकास माविमा अध्यनरत दुई छात्रा बेपत्ता पारिएको, तीन वर्षअघि दूधपोखरीमा भारतीय नागरीकद्वारा सेनामा भर्ति गराउने प्रलोभनमा नगद ठगी भागेको, एक युवतीलाई विवाहको नाटक गरी नेपाल भारतको सिमा सुनौलीमा अलपत्र पारी छोडेको कुरालाई समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा पटकपटक यस्ता जघन्य प्रकृतिका अपराधहरू भइरहँदा पनि हालसम्म कोहि कसैलाई कारवाही नगर्नु प्रशासनको उदासिनता भएको ज्ञापनपत्रमा उल्लेख छ ।

जिल्लामा महिला हिंसा, मानव बेचबिखन जस्ता घटनालाई न्युनिकरण गर्न शहर बजार सहित ग्रामीण क्षेत्रमा पनि उच्च निगरानी राख्नुपर्ने उनीहरूको माग छ ।

विशेष गरी जिल्लामा प्रवेश गर्ने नयाँ तथा शङ्कास्पद व्यक्तिहरूमा विशेष निगरानी राख्नुपर्ने महिला अधिकारकर्मीहरूको माग रहेको छ ।

जिल्लामा क्रियाशील मानव अधिकार संस्था इन्सेकलगायत महिला अधिकारकर्मीहरू अमृता घिमिरे असिम, कान्ता घिमिरे, रोजिना तामाङ, बसन्तमाया तामाङ, मदिना तामाङ, हसमाया तामाङ, विष्णु तामाङ, झरना पराजुली लगायतले संयुक्त रुपमा प्रजिअ वैद्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

महिला अधिकारकर्मीहरुको ज्ञापनपत्र बुझ्दै प्रजिअ वैद्यले महिला हिंसा, मानव बेचबिखन, बलात्कारजस्ता घटना न्युनिकरणका लागि प्रहरी प्रशासनको मात्रै सक्रियताले नहुने भन्दै प्रत्येक व्यक्तिले सहयोग गर्नुपर्ने प्रजिअ वैद्यको भनाइ थियो ।

photo20220614lamjung


दलबहादुर मजाकोटी