महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

  ०८० असार १९ गते

pic 1 (4)

मिडिया काउन्सिल मधेस प्रदेश, जनकपुरको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा सिरहाको लहानमा महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम असार १८ गते समपन्न भएको छ ।

मधेस प्रदेशका महिला पत्रकारहरूलाई पत्रकारिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिहंले पत्रकारहरूलाई देशकै चौथो अङ्ग भने पनि न पत्रकारहरूलाई पारिश्रमिक छ, न सुरक्षा छ, न तालिम छ, पत्रकारहरू माथी राज्यले विभेद गरेको छ । त्यसमा पनि महिला पत्रकारहरूलाई त झन श्रम शोषण र विभेद गरेकोले महिला पत्रकारको संख्यामा कमी आएको सिहंले बताउनु भयो । संघ सरकारले बेइमानी गरेको कारणले प्रदेश सरकारले पत्रकारहरूको हक हितको लागि केही गर्न नसके पनि महिला पत्रकारहरूको हक अधिकार, सुरक्षा, बिमाको लागि प्रदेश सरकारसंग माग गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।

त्यसैगरी प्रदेश सभा सदस्य ललिता दासले महिला पत्रकारहरूले आफनो हक हितको लागि संगठित भएर आवाज उठाउनु पर्ने बताउनु भयो । महिलाहरू पत्रकारितामा लागे पछि श्रम शोषण, यौन शोषण जस्ता कार्यहरूले गर्दा पछाडि परेको र पत्रकारिताबाट विस्थापित पनि भएको बताउनु भयो । प्रदेश सरकारले महिला पत्रकारहरूको लागि सुरक्षा, श्रम, रोजगारी, क्षमता अभिबृद्धि, बिमा जस्ता कार्यहरू गर्नु पर्ने र यसको लागि आफूले जोडदार माग प्रदेश सभामा राख्ने प्रतिबद्धता गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कर्णले महिलाहरू पत्रकारितामा आउन र महासंघको सदस्यता लिन आफै अगाडि आउनु पर्ने बताउनु भयो । पत्रकारिता क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन् । त्यसको सामना गर्नु प्रदेश महासंघ हमेसा साथमा रहने बताउनु भयो । महासंघको सदस्यताको प्रक्रियाहरू छ । सदस्यता प्राप्त गर्न आफै अग्रसर हुनु भयो भने प्रदेशले साथ र सहयोग गर्ने जानकारी कर्णले गर्नु भयो । मिडिया काउन्सिलले महिला पत्रकारहरूको सुरक्षा, पारिश्रमिक, शोषण र तालिमको लागि जिल्ला जिल्लामा पहल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक प्रदेश कार्यालय जनकपुरका संयोजक राजु पासवानले नेपाली सञ्चार माध्यममा पत्रकार महिला विषयक प्रस्तुतिकरण गर्नु भएको थियो । प्रस्तुतिकरणमा मधेश प्रदेशमा ८५ जना मात्र महिला पत्रकारहरू नेपाल पत्रकार महासंघको सदस्य रहेकोले यो न्यून संख्या भएकोले संबन्धित पक्षले महिला पत्रकारहरू उत्पादन गर्न र यो क्षेत्रमा टिकाउन विभिन्न किसिमका योजनाहरू ल्याउनु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले काउन्सिलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै महिला पत्रकारहरूको हक हित र सुरक्षाको लागि काउन्सिल अग्रसर रहेको उहाँले बताउनु भयो । काउन्सिल सँग श्रोत साधन कम भएको र त्यो रकम पनि समयमा प्रदेश सरकारले निकासा नगर्दा काम गर्न असहज स्थिति रहेको बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशका महिला पत्रकारहरूले आफूहरूले लामो समय देखि पत्रकारिता गरे पनि पारिश्रमिक नपाएको तथा महासंघले सदस्यता नदिएको जस्ता गुनासाहरू राख्नु भएको थियो भने त्यसलाई सम्बोधन गर्दै मिडिया काउन्सिलकी सदस्य तथा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य रिकुं मिश्रले नेपाल पत्रकार महासंघ सदैब पत्रकारहरूको पक्षमा रहेको बताउनु भयो ।
pic 1 (2) pic 1 (1)pic 1 (5)


दुर्गा परियार