महिला अधिकारको अवस्था अझै कमजोर

दार्चुलामा यस वर्षपनि महिला मानव अधिकारको अवस्था कमजोर रहेको सार्वजनिक गरिएको छ । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रतिवेदन पेश गर्दै इन्सेक दार्चुलाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

महिला तथा बालबालिका कार्यालय दार्चुलाको आयोजनामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र जिल्लाको मानव अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र अनुसार जिल्लामा महिलामाथि हुने हिंसामा कमी आउन नसकेको, बलात्कार, वैवाहिक बलात्कार, यौनजन्य हिंसा, हाडनाता करणी, इज्जत कायम राख्ने नाममा हुने हत्या, मदिराको कारण हुने हिंसा, जस्ता कुराहरू प्राथमिकताका साथ उठाइएको छ ।

जिल्लामा सन् २०१६ को अवधिमा ५५ ओटा विभिन्न प्रकारका घटनाहरू घटेको इन्सेकले जनाएको छ । तथ्याङ्क अनुसार ०७२ मा जिल्लामा नौ ओटा लैङ्गिक हिंसा, १५ ओटा महिला हिंसा र ४३ ओटा घरेलु हिंसा भएको जनाइएको छ ।

यसैगरी जिल्लामा सन् २०१६ को हालको अवधिसम्म पाँच ओटा हत्या, तीन ओटा बलात्कार र एउटा बेचबिखन भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार जिल्लामा महिला अधिकारको अवस्था अझै कमजोर रहेको छ । यस वर्ष जिल्लामा खाद्य सुरक्षाको अवस्था पनि कमजोर रहेको उल्लेख गरिएको छ ।

अझै पनि ग्रामीण भेगमा अखाद्य वस्तुको खुलेयाम विक्री, वैदेशिक रोजगारी, मदिराजन्य कारोबारको खुलापन, हलिया, वादी समुदायको शैक्षिक, खाद्य तथा आर्थिक अवस्था कमजोरको देखिनुको साथै विकास निर्माणमा भइरहेको ढिला सुस्तीलाई प्रमुखताका साथ प्रतिवेदनमा समेटिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लाको यर्थाथता प्रतिवेदनमा समेटिएको बताए । 'प्रतिवेदन निकै मेहनत गरी आएको छ ।'-उनले भने-'यसको कार्यान्वयनको लागि सबै जिम्मेवार हुनु जरुरी छ ।'

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले कार्यक्रमहरू प्रभावित क्षेत्रमा गर्नुपर्ने सुझाव दिए । उनले जिल्लाको ग्वानी, मालिकार्जुन र भगवती गाविसमा महिला अधिकारको अवस्था कमजोर रहेको बताए । 'जिल्लामा सबै भन्दा बढी समस्या यी तिनवटै गाविसमा देखिने गरेको छ ।'-उनले भने-' यस्ता क्षेत्रमा कार्यक्रम गर्न सके अझै प्रभावकारी हुने बताए ।'

महिला विकास अधिकृत विष्णुमाया पौडेलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गाउँ गाउँमा सञ्चालन भएपनि अझै आगामी दिनमा प्रभावित क्षेत्रमा केन्द्रीत गर्ने बताइन् ।


नरेन्द्रसिह कार्की