महिनौँदेखि अवरुद्ध सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

अविरल वर्षाका कारण महिनौँदेखि अवरुद्ध भएको दिपायल फलेडी धिर्कामाडौँ सडक सञ्चालनमा नआउँदा आफूहरुले सास्ती खेप्नु परेको बोगटानका स्थानीय नागरिकहरुले गुनासो गर्नु भएको छ ।

वर्षातको समयमा परेको पानीले ठाउँ ठाउँमा पहिरो र हिलाम्य भएर अवरुद्ध भएको सडक मर्मतसम्भार नहुँदा  स्थानीय नागरिकहरुलाई स्वास्थ्य तथा अन्य सेवा लिन सास्ती भएको हो ।

गत असार १८ र १९ गते परेको अविरल वर्षाका कारण दिपायल फलेडि धिर्कामाडाँै सडक खण्डको कालढुङ्गा कालापातल क्षेत्रको जङ्लमा पहिरो खसेर सडक हिलाम्य बन्दा आवत जावतमा समस्या परेको बोगटान फुडसिल गाउँपालिका–५ धिर्कामाडौँका दिपक बोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘हरेक वर्ष वर्षाको समयमा सडक अवरुद्ध हुने गरेको भएपनि स्थानीय तह र सम्बन्धीत सरोकारवाला पक्षले कुनै पहल नगरेका कारण स्थानीयले सास्ती खेप्नु परेको छ । गर्भवती, सुत्केरी, अशक्त र ज्येष्ठ नागरिकहरुले थप सास्ती खेप्नु परेको छ ।’

०७९ साउन १७ गते बोगटान फुडसिल गाउँपालिका–५ का स्थानीय हिरा बोहराकी १५ वर्षीया छोरी राधिका बोहरा घर मै लडेर खुट्टा भाचियो । स्थानीय धिर्कामाडौँ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि पाँच घण्टाको बाटोमा स्टेचरमा बोकेर दिपायलस्थित सुजङ्ग अस्पतालमा पुर्याउनु परेको बिरामी राधिका बोहराका दाजु हेम बोहराले दुखेसो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘वर्षातको समयमा हरेक वर्ष खडक अवरुद्ध हुन्छ । स्थानीय सास्ती खेप्नु पर्छ । तर, सडक मर्मत हुने गरेको छैन् । नेपाल सरकारले दिर्घकालिन उपाय नखोजेसम्म यहाँका नागरिकले वर्षभरी यस्तै सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ ।’

दिपायल फलेडि धिर्कामाडौँ सडक अवरुद्ध हुँदा दोब्बर भाडा तिरेर दिपायल वायल चमराचौतारा सडक खण्डबाट सामग्री ल्याउनु पर्ने र त्यसपछि भरिया लगाएर दुई घण्टाको पैदल यात्रा गरी सामान ल्याउनु पर्ने बाध्यता रहेको  बोहरा किराना पसल बोगटान धिर्कामाडौँका सञ्चालक गणेश बोहराले गुनासो गर्नु भयो ।

उहाले भन्नु भयो– ‘घर घरमा सिंह दरवार र तीन तहका सरकार भन्छन । तर, हामी स्थानीयहरुको पिडा कसैले सुनुवाई गरेका छैनन् ।’

बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले अविरल वर्षा र नियमित परिरहने पानीले सडक अवरुद्ध भइ स्थानीय नागरिकहरुले सास्ती खेप्नु परेकोले यसको दिर्धकालिन समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारले पक्की सडक निर्माण गर्न बजेट बिनियोजन गरेको बताउनु भयो ।

उहाँले के आइ सिँह गाउँपालिकाको सिमानाबाट छत्रेश्वर माध्यमिक विद्यालय फलेडिसम्म सात किलोमिटर पक्की बाटो निर्माण भएको र त्यहाँबाट धिर्कामाडौँ जान यसै वर्ष पक्की बाटो निर्माणका लागि सम्झौतामा हस्ताक्षर प्रक्रिया अगाडी बढेकोले आगामी दिनमा स्थानीयहरुलाई सहज हुने बताउनु भयो ।

photo20220815doti (1)

photo20220815doti (2)

 


गणेश जोशी