महिनावारी हुँदा ६८ प्रतिशत किशोरी गोठमै बस्छन् !

सिंजा उपत्यकामा पर्ने तीन ओटा स्थानीय तहका ६८ प्रतिशत किशोरी महिनावारी अर्थात् छुई हुँदा अझै गोठमा बस्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनल नेपाल र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले ‘छाउ’ हुँदा छाउगोठमा बस्ने महिला तथा किशोरीको अवस्थाबारे सिँजा उपत्यकामा पर्ने कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा सर्वेक्षण गरी तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

उक्त सर्वेक्षण अनुसार कनकासुन्दरी गाउँपालिकामा ६८ प्रतिशत किशोरी र ५८ प्रतिशत महिला छुई अर्थात महिनावारी हुँदा अझै गोठमा बस्ने गरेका छन् ।

जसमध्ये २५ प्रतिशत महिला र १३ प्रतिशत किशोरीले छुई हुँदा घरभन्दा अलग्गै छुईगोठमा बस्ने गरेका  छन् भने यस्तै, १७ प्रतिशत महिला र १९ प्रतिशत किशोरीले मात्रै छुई हुँदा घरमा बस्ने गरेको तथ्याङ्क रहेको छ ।

सबै वडाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक स्थानीय तहका १ सय ४४ जना महिला तथा किशोरीलाई सर्वेक्षणमा प्रश्न गरिएको थियो ।

क्याड नेपालकी दीक्षा भाटले भनिन्–‘नमूना सर्वेक्षणमा सहभागी छुईगोठमा बस्ने महिला र किशोरीलाई सामाजिक दबाब छ । बाध्यताले छुईगोठमा बस्दा उनीहरूको शारीरिक तथा मानसिक अवस्था समेत कमजोर हुँदै आएको छ ।’

छाउपडी प्रथाकै कारण कर्णालीका महिला तथा किशोरीमा हिंसा बढेको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्लाका कार्यालय प्रमुख रमेशकुमार थापाले बताए ।

छाउपडी प्रथा उन्मुलन निर्देशिका–२०६४ जारी भएको छ । तर, कानुन कार्यन्वयन भएका कारण यो प्रथा कायमै रहेको छ ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी हवल्दार विमला कुँवरले छाउपडी प्रथाका कारण महिला तथा किशोरीले भोग्नुपरेको समस्या उजुरीको रूपमा नआएको बताइन् ।

‘छुईगोठमै बसेका कारण महिला तथा किशोरी बलात्कृत, कुटपिट हुनुका साथै जनावरको समेत आक्रमणमा पर्छन् तर सामाजिक दबाबका कारण प्रहरीमा उजुरी दिँदैनन् ।’–हवल्दार कुँवरले भनिन्–‘यस्ता मुद्दा समाजमै मिलापत्र गरेर पीडितलाई थप पीडा दिने काम भइरहेको छ ।’

अधिवक्ता मीनबहादुर महतले छाउपडीका कारण हिंसामा परेका महिला तथा किशोरीले न्याय पाइसकेपछि पनि पुनःस्थापना हुन नसक्दा उनीहरू हिंसा सहेरै बस्न बाध्य भएको टिप्पणी गरे ।


मानदत्त रावल