महिनावारीका समयमा विद्यालय जान नहुने कुसंस्कारका कारण छात्राहरूको पढाइ प्रभावित
दार्चुलाको लेकम क्षेत्रमा छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाको कारण छात्राहरू महिनावारी भएको बेलामा विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् ।
घर परिवारको रुढिवादी सोच र चेतनाको अभावका कारण छात्राहरू विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् ।
दार्चुलाको उकु, लाली, खरकडा, डाडाकोट हुनैनाथलगायतका गाविसमा इन्सेकले गरेको अनुगमनको क्रममा विद्यार्थीहरू महिनावारी भएको बेला विद्यालय नजाने गरेको पाइएको हो ।
'घरमा बावुआमाले नै महिनावारी भएको बेला विद्यालय जान नहुने भन्नुहुन्छ ।'-गल्लाकेदार मावि खरकडाका कक्षा ८ मा अध्ययनरत छात्रा गीता गिरीले भनिन् । 'विद्यालय जाँदा विद्या नष्ट हुन्छ । सरस्वतीको मन्दिरमा जानु हुँदैन भनेर घरबाट विद्यालय जान रोक लगाइन्छ । जबरजस्ती घर गए अभिभावकले कुटपिट गर्नुहुन्छ ।'-उनले भनिन् ।
अर्की विद्यार्थी महेश्वरी ठगुन्नाका अनुसार महिनावारी भएको बेला घरमासमेत भाँडाकुँडा छुन नदिने तथा घर परिवारभन्दा टाढा राख्ने चलन छ । 'महिनावारी भएका केटीहरूलाई ६ दिनसम्म केही पनि छुन दिँदैनन् ।'-उनले भनिन्-'त्यसपछि मात्र भाँडाकुँडा र घर परिवारका मान्छेसँग नजिक हुन पाइन्छ ।'
कक्षा १० मा अध्ययनरत सीता ओझाका अनुसार महिनावारी भएको बेला आफूहरूले नै भैँसीको दुध दुहुने गरेको भएपनि खान भने पार्इँदैन । महिनावारी भएको बेला छुँदा केही हुँदैन विद्यालय जान दिनुस भन्दा पनि घर परिवारले विद्यालय जानबाट रोक लगाउने गरेको उनले सुनाइन् ।
घरपरिवारबाटै रोक लगाएपछि विद्यालयको पठनपाठन अवरूद्धसमेत हुने गरेको छ । 'महिनामा आठ दिन महिनावारी भएको बेला पढ्न पाएका छैनौँ ।'-देवकी कुँवरले भनिन्-' एक वर्षमा हामीहरूको आधा कोर्ष घरमै रहेर बित्छ । जबरजस्ती विद्यालय आएपनि विद्यालयमा छात्रा शौचालय र प्याडसमेत नहुँदा ठूलो समस्यामा परेका छौँ ।'
गल्ला केदार मावि खरकडाका प्रधानाध्यापक दामोदर पन्तले अझै पनि चेतना अभावका कारण छात्राहरूका आमा बुवाले महिनावारी भएको बेला विद्यार्थीलाई विद्यालय नपठाउने गरेको बताए ।
'हामीले पटक विद्यालय आउन भन्ने गरेका छौँ ।'-उनले भने-'तर, छात्राहरू आफँ देउता लाग्ने डरले आउँदैनन् ।'
'अझै पनि ग्रामीण भेगमा चेतना अभावका कारण महिनावारी हुँदा विद्यालय नजाने, देउता लाग्छ भन्ने डर कायमै छ ।'-सामाजिक कार्यकर्ता चन्द्रा ओझाले भनिन्-'पहिलेको अवस्थालाई परिवर्तन गर्न समस्या छ । सुत्केरी र महिनावारी हुँदा पोषिलो चिज खानु त कहाँ हो - छुन समेत पाईँदैन ।'
कृष्ण मावि लालीका प्राचार्य किशनदत्त जोशीका अनुसार छात्राहरू विद्यालय नआउँदा पढाइ प्रभावित हुने गरेको छ । 'यस क्षेत्रका छात्राहरूका पढाइ नियमित गराउन यहाँका अभिभावकका लागि चेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता छ ।'-उनले भने ।
छाउपडी प्रथा उन्मुलन गर्न बनेको 'छाउपडी प्रथा उन्मुलन निर्देशिका-२०६४' कार्यान्वयन प्रभावकारी नहुँदा अझै ग्रामीण भेगमा यो प्रथा कायमै रहेको हो ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…