महासन्धि अनुमोदनका लागि हस्ताक्षर अभियान

  ०७५ भदौ १४ गते

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) को अवसरमा बलर्पूवक बेपत्ता पारिएका सबै नागरिकहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–२००६ अनुमोदनका लागि राज्यलाई दवाव दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, एमनेष्टी इन्टरनेशनल, नेपाल लयर्स समूह ६९ सुर्खेत र मानव अधिकारका लागि महिला एकल महिला समूहको आयोजनामा भदौ १४ गते हस्ताक्षर अभियान गरिएको हो । हस्ताक्षर अभियान सुरू गर्नुपूर्व स्थानीय मङ्गलगढी चोकबाट ¥याली समेत निकालिएको थियो ।

वीरेन्द्रचोकमा आयोजित हस्ताक्षर अभियान समापन कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे बेपत्ता पारिएका व्यक्तिहरूको परिवारजनलाई जानकारी गराउने उल्लेख गरिएपनि सम्झौता भएको १२ वर्ष बित्दासमेत यसतर्फ राज्यले चासो नदिनु दुखद् भएको बताए ।

संयोजक सुवेदीले सशस्त्र द्वन्द्वको क्रममा मुलुकभर ९ सय ३२ तथा कर्णाली प्रदेशमा राज्यबाट ८० र तत्कालीन विद्रोही नेकपा माओवादीबाट १३ गरी ९३ जना हालसम्म पनि बेपत्ता पारिएको जानकारी दिए । दिवसकै अवसरमा भदौ १४ गते साँझ वीरेन्द्रचोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।


दुर्गा थापा