महाशिला गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

  ०७५ चैत १९ गते

महाशिला गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले विभिन्न माग राख्दै चैत १८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्दा गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा प्रभावित भएको छ ।

कांग्रेसले महाशिला गाउँपालिकाको कुनै पनि निर्णय प्रक्रियामा आफ्नो दललाई सहभागी नगराएको भन्दै तालाबन्दी गरेको पार्टीका महाशिला गाउँपालिका कार्यसमितिका अध्यक्ष धनप्रसाद गुरुङले बताए ।

यस अगाडि चरणबद्ध रूपमा ध्यानाकर्षण पत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर कांग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको कांग्रेसले आफ्ना मागप्रति गाउँपालिकाले बेवास्ता गरेका कारण तालाबन्दी गरिएको गुरुङको भनाई छ ।

कांग्रेसले चरणबद्ध रूपमा आन्दोलन गरिरहेपछि गाउँपालिका र कांग्रेस गाउँकार्यसमिति बीच चैत १८ गते दिउँसो वार्ता भएपनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत् नेपाली कांग्रेसका स्थानीय नेता उज्ज्वल गुरुङले जानकारी दिए ।

वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताए । छलफलका क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरूले भने आफ्नो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निश्कर्षविहीन भएको थियो ।

अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले कांग्रेसका मागलाई प्राथमिकतामा नपार्नु सरह भएको भन्दै तालाबन्दी गरेको नेता गुरुङको भनाई छ ।

महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले कांग्रेसलाई विभिन्न सात ओटा विषयमा छलफलका लागि बोलाइएको भएपनि सो छलफललाई वार्ताका रूपमा भने लिन नहुने बताए ।

गाउँपालिकाका प्रमुख राजु पौडेल विदेशमा रहेका कारण वडाध्यक्षहरू बसेर सामान्य छलफल भएको र चैत १९ गते पुनः छलफल गर्ने तयारी भएपनि कांग्रेसले आफ्ना मागहरू पूरा गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको बताए ।

तालाबन्दीका कारण महाशिला गाउँपालिकाबाट हुने व्यक्तिगत घटना दर्ता, सिफारिसलगायत अन्य सम्पूर्ण सेवाहरू ठप्प भएका छन् ।


सन्तोष थापा