महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनूपराज शर्मा र मीनबहादुर रायमाझीले वैशाख १८ गते संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको राससले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ-“जनताको हकअधिकार संरक्षण गर्ने कार्यमा न्यायपालिका निरीह बन्यो भने प्रजातन्त्र कमजोर हुन्छ, राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरले न्याय सम्पान गर्ने वातावरण बिथोलिने कुरा निश्चित नै छ ।”

निहित राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको तथा अस्पष्ट र निराधार आरोपका आधारमा प्रक्रिया अगाडि बढाउँदा न्यायपालिकाप्रतिको जनआस्था खल्बलिने, कानुनी राज्य धराशायी हुने र प्रजातन्त्र नै विशृङ्खलित हुने स्थिति आउने कुरा पनि विज्ञप्तिमा औँल्याइएको छ ।


अनलाइन डेस्क