महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ ।

महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थकले नै जेठ १४ गते व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावमा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै महाअभियोग प्रस्ताव अघि बढाउन उपयुक्त नहुने हुँदा उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गरिएको छ ।

सभामुख ओनसरी घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार महाअभियोग प्रस्ताव अघि नबढाउने विषयमा व्यवस्थापिका-संसद् सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रस्ताव अघि नबढाउने विषयमा छलफल गर्न भने बाँकी छ ।

महाअभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव व्यवस्थापिका-संसद् सचिवालयमा पेस गर्नुअघि सभामुख घर्तीमगरले महाअभियोग प्रस्ताव फिर्ता लिनका लागि कानुनी प्रक्रियाका विषयमा संसद्मा रहेका नेपाली काङ्ग्रेसका रमेश लेखक, एमालेका रेवतीरमण भण्डारी, माओवादी केन्द्रका रामनारायण विडारी र सचिवालयका कानुनी सल्लाहकार अर्जुनकुमार खड्कासँग परामर्श लिएकी थिइन् ।

महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक बस्नेत मुख्य समर्थकलगायतले गत वैशाख १७ गते व्यवस्थापिका- संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा सत्ता साझेदार दुवै दलका २ सय ४९ सांसदको हस्ताक्षर रहेको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम दर्ता गरिएको उक्त प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको थियो ।


अनलाइन डेस्क