मन्दिर प्रवेशमा विभेद गरेको आरोप

  ०७९ साउन २९ गते

डोल्पास्थित प्रसिद्ध बालात्रिपुरासुन्दरी भगवतीको मन्दिर प्रवेशमा विभेद गरेको तीर्थालुभक्तजनहरूले आरोप लगाउनु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१० दापुका बर्जमान देवताका पुजारी कृष्ण बुढालाई मन्दिर प्रवेश गर्दा बालात्रिपुरासुन्दरीका पुजारीले विभेद गरेको आरोप लगाउनु भएको हो ।

मन्दिरको मुख्य मूर्ति दर्शनका लागि ०७९ साउन २५ गते मन्दिरभित्र पस्न खोज्दा बालात्रिपुरासुन्दरी भगवतीका पुजारी टंकप्रसाद उपाध्याय, टिकादत्त न्यौपाने, मन्दिरका सहयोगी जसिराम बोहरा लगायतका पुजारीले मन्दिरका ब्राम्हण बाहेक अरुले मुख्य मन्दिरको गाथमा जान पाइन्न भन्दै प्रवेशमा अवरोध गर्दा केही समय धकेलाधकेलको अवस्था आएको बज्रमान देवताका पुजारी बुढाले बताउनु भयो ।

सार्वजनिक मन्दिर जस्तो स्थानमा मन्दिर प्रवेशमा अवरोधका साथै विभेद गरिनु कानुन विपरित भएकाले आफुहरूले कानुनी प्रकृया अपनाइने दापुकै हरिलाल साहिलाले बताउनु भयो ।

त्रिपुरासुन्दरी मन्दिरका पुजारी टंकप्रसाद उपाध्यायले मन्दिरको भगवती विराजमान मुख्य गाथमा मुलपुजारी बाहेक अरु प्रवेश गर्ने ब्यवस्था नभएको र सबै दर्शालुभक्तजनले मन्दिरको गाथ तलैबाट दर्शन गर्ने परम्परा रहेकाले आफुले प्रवेश गर्न रोक लगाएको तर विभेद नगरेको प्रतिकृया दिनु भयो ।

साउन पूर्णिमाको समयमा जिल्लाका सबै कुल देवताको तीर्थस्नान गराई धार्मिक शक्तिपिठहरूको दर्शन गराउने क्रममा बालात्रिपुरासुन्दरी मन्दिरमा पनि भक्तजनको घुइचो लाग्ने र सबैले सदाझै तोकिएकै स्थानबाट दर्शन गर्ने ब्यवस्था भएकोमा दापुका बज्रमान देवता धामीपुजारी कृष्ण बुढाले देवता चढेको भन्दै काम्दै मन्दिरका पुजारीसमेतलाई धकेला धकेल गरी मुख्यमठाधीस पुजारी बस्ने स्थानमा जान खोजेकाले आफुहरूले रोकेको र जुनसुकै कानुनी निकायमा गएपनि प्रतिवाद गर्न तयार रहेको मन्दिरका अर्का पुजारी टिकादत्त न्यौपानेले बताउनु भयो ।


विष्णु देवकोटा