मन्त्रीद्वारा आचारसंहिता उल्लङ्घन

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मन्त्री जितेन्द्रनारायण देवले कात्तिक २४ गते आचारसंहिता उल्लङ्घन गरी नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको प्रचारप्रसार गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत विष्णुपुर गाउँपालिकाको खुरहुरिया र डाँक्नेश्वरी नगरपालिकाको पत्थरगाडामा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्त्री देव र नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले काङ्ग्रेसका उम्मेदवारको पक्षमा खुलेर मत मागे ।

मन्त्री देवले मतदाताहरूलाई रुख छापमा मतदान गर्न आग्रह गर्दै काङ्ग्रेसलाई दुई तिहाई बहुमतले जिताए मात्र मधेसको समस्या समाधान हुने बताए । सोही सभालाई सम्बोधन गर्दै रेडक्रस सप्तरीका सभापति जोगेन्द्र भगतले मुलुकको हरेक समस्या समाधान गर्न मुलुकको सबभन्दा पुरानो पार्टी काङ्ग्रेसलाई जिताउनुपर्ने धारणा राखे ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद ३ को ६ मा निर्वाचनमा उम्मेदवार भएका मन्त्रीबाहेक नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु हुँदैन भन्ने उल्लेख छ ।


मनोहरकुमार पोखरेल