मन्त्रालयले खटाएका कर्मचारी नआएपछि कारागार पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन
जिल्ला कारागार, सुर्खेत विगत पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन बनेको छ । मन्त्रालयले खटाएका स्वास्थ्यकर्मी नआएको र दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन बनेको हो । स्वास्थ्य मन्त्रालय अर्न्तगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत सिनियर अहेब अधिकृत छैटौँस्तरका रामेश्वर चौधरीलाई सुर्खेत कारागारमा खटाइएको थियो । तर उहाँ अहिलेसम्म हाजिर हुन आउनुभएको छैन ।
खटाएका स्वास्थ्यकर्मी हाजिर हुन नआएपछि कारागारमा कैदीबन्दीलाई उपचारको लागि प्रदेश अस्पताल लैजानुपर्ने बाध्यता छ । कारागारमा स्वास्थ्यकर्मी नभएपछि सामान्य रुघाखोकी लागेका र प्रेसरका बिरामीहरूलाई पनि प्रदेश अस्पताल लिनुपर्ने अवस्था रहेको कारागारका सूचना अधिकारी भूवन गौतमले बताउनु भयो । कारागारमा स्वास्थ्यकर्मी नभएको कुरा कारागार व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र गृह मन्त्रालयलाई समेत जानकारी गराइसकेको भए पनि अहिलेसम्म स्वास्थ्यकर्मी हाजिर हुन नआएको कारागार प्रशासनले जनाएको छ । कारागारमा पाँच वर्षदेखि स्वास्थ्यकर्मी नहुनु सरकारको गम्भीर लापरवाही भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो । ‘कारागारमा भएका कैदीबन्दीको पनि मानव अधिकार हुन्छ । सरकारले व्यवस्था गर्नैपर्ने आधारभूत स्वास्थ्य सेवा समेत कारागारमा नहुनु कैदीबन्दीको स्वास्थ्यको सवाल हो । यो मानव अधिकार विरुद्धको कदम हो’, उहाँले भन्नुभयो ।
लामो समयदेखि कारागारमा स्वास्थ्यकर्मी छैनन् । जसका कारण कैदीबन्दीले समयमै सामान्य स्वास्थ्य उपचार समेत पाउन सकेका छैनन् । कारागारमा रहेका ज्येष्ठ नागरिक र विभिन्न रोगका बिरामीको नियमित प्रेसर चेक गर्नुपर्ने हुन्छ । तर त्यही प्रेसर जाँच गर्ने सुविधा समेत कारागारमा छैन । कारागारमा खटाइएका स्वास्थ्यकर्मी आउन पर्ने माग जिल्ला प्रशासन कार्यालयले पनि गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो । प्रशासनको पहल र प्रयास जारी रहे पनि अहिलेसम्म खटाएका कर्मचारी किन आएनन् भन्ने विषयमा भने प्रशासन पनि अनविज्ञ रहेको छ । कानुन न्याय तथा मानव अधिकार समितिका पदाधिकारीहरू आएको बेला उक्त विषय उठेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो । ‘हामीले पनि कुरा राखेका थियौँ । प्रशासन र कारागार प्रशासनबाट पनि माथिल्लो निकायलाई खबर गरेका छौँ । अहिलेसम्म स्वास्थ्यकर्मी आउनुभएको छैन । यसबारेमा हामीलाई पनि थाहा भएन’, उहाँले भन्नुभयो ।
जिल्ला कारागारमा ४ सय जना पुरुष र ४० जना महिला कैदीबन्दी रहेका छन् । १ सय जनाको क्षमता रहेको कारागारमा ४ सय बढी कैदीबन्दी छन् ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…