आगलागी हुँदा १२ घरगोठ जलेर नष्ट, छिमेकीमा शरण लिदै पीडित परिवार

मध्यविन्दु नगरपालिका– १४ मा पर्ने चनौटे र सूर्खा गाउँमा आगलागी हुँदा १२ घरगोठ जलेर पूर्ण क्षति भएको छ भने चार घर पूर्णरूपमा नष्ट भएको छ । घरगोठ अन्नपात सबै जलेर सखाप भएपछि  पीडितहरू अहिले छिमेकीकोमा शरण लिएका छन् ।

गाउँ नजिकै रहेको जङ्गलमा लागेको आगो बस्तीमा बस्दा घरगोठ जल्नुका साथै पशु चौपाया र अन्नपात समेत जलेर नष्ट भएको छ ।

०८१ वैशाख १० गते  दिउँसो दुई बजेतिर बस्तीमा आगो पसेको थियो । स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीको प्रयासबाट उक्त दिन साँझ  करिव ८ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

पीडित नवलसिंह ढेगाले घरगोठ जलेर सबै नष्ट भएपछि अहिले आफ्नो परिवार छिमेकीकोमा  शरण लिएको बताउनुभयो । आगलागीबाट मानवीय क्षति नभएपनि भौतिक क्षति भएको छ । बस्ने बास र खाने अन्नपात नै  सबै सखाप भएपछि  पीडितहरू  चिन्तित बनेका छन् ।

मध्यबिन्दु नगरपालिकाले आगलागी पीडितहरूलाई विभिन्न राहत सामाग्री प्रदान गरेको छ भने, जलेर नष्ट भएको घर पुननिर्माण समेत गरिदिने भएको छ । वैशाख १२ गते नगर प्रमुख भिमलाल अधिकारी र प्राविधिक सहितको टोली घटना स्थलमा पुगेर पीडितसँग भेटघाट समेत गर्नुभएको छ । नगर प्रमुख अधिकारीले आगलागीबाट क्षति भएको घर मध्यविन्दु नगरपालिकाले पुननिर्माण गरिदिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले पीडित परिवारका बालबालिकाहरूका लागि शैक्षिक सामाग्री र प्रति परिवार एक÷एक थान सिरक वितरण गर्नुभयो भने, नगरपालिकाका इन्जिनियर विवेक पोख्रेल लगायतको टोलीले नयाँ घर निर्माणका लागि नाप जाँच गर्ने कार्य समेत गर्नुभएको छ ।

तत्कालका लागि नेपाल रेडक्रस लगायतका सङ्घसंस्थाले  खाद्यसामग्री, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्री वितरण गरेका छन् ।

लामो समय पानी पर्न नसक्दा सुख्खा भइ यस वर्ष नवलपुरमा डढेलो बढी लागेको छ । कावासोती, मध्यविन्दु र बुलिङटारमा केही दिन अघि  बस्तीमा आगलागीका घटना भएका छन् । जसमा  मानवीय क्षति भने नभएको तर भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल परियारले जानकारी दिनुभएको छ ।

नवलपुरमा २ हजार ५ सय ५३ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चैत दोश्रो सातादेखि सुरु भएको डढेलोले यहाँको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिनुभयो ।

aglagi1 081-1-13 nawalpur

aglagi2 081-1-13 nawalpur


ज्ञानु पंगेनी