मधेस प्रदेशमा निर्वाचन शान्तिपूर्णः आयोग

  ०७९ मङसिर ७ गते 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद शर्मा ढुङेलले मङसिर ४ गते देशभर एकै साथ सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा विगतको निर्वाचन भन्दा दल, उम्मेदवार र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गरेको बताउनु भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा आयोगका सदस्य डा. शर्माले मधेस प्रदेशमा विगतको भन्दा यस पटकको निर्वाचन निकै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउनु भयो ।

उहाँले मधेस प्रदेशमा मतदाता नामावलीमा महिलाको सङ्ख्या कम भएपनि निर्वाचनमा मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको बताउनु भयो ।

मधेस प्रदेशमा विगतको निर्वाचनभन्दा यस पटकको निर्वाचनमा ब्यानर, पर्चा, पम्पलेट, र्‍याली, आमसभा, निर्वाचनमा बालबालिकाको प्रयोग लगायतको अन्य तडकभडक दल र उम्मेदवारहरुले कम गरि निर्वाचन आचारसंहिता पालनामा ध्यान दिएको उहाँले बताउनु भयो ।

मधेस प्रदेशमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएपनि निर्वाचन आयोगले तय गरेको टोल फ्रि नम्बर र मतदाता शिक्षा कार्यक्रम सर्वसाधारणसम्मको पहुँच बाहिर रहेको उहाँले बताउनु भयो । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सर्वसाधारणले नपाएको उहाँले बताउनु भयो ।

निर्वाचन आयोगले अधिकाँश मतदान केन्द्र विद्यालय, खुल्लाचौर, स्वास्थ्य चौकी र अस्थायी प्रहरी चौकीमा समेत गर्नुको साथै निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतमा स्वास्थ्य सेवाका कर्मचारीलाई खटाइएको निर्वाचन पर्यवेक्षणको क्रममा तथ्य फेला पारिएको उहाँले बताउनु भयो ।

आयोगका सदस्य डा. शर्माले समग्र रुपमा निर्वाचनको दिन मतदाताहरुको मतदान कार्यमा उत्साहमा कमी देखिएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडाले निर्वाचनको क्रममा आयोगले मतदान केन्द्रमै पुगेर पर्यवेक्षण गरेको बताउनु भयो ।

अहिले वृहत् रुपमा निर्वाचन पर्यवेक्षणको प्रतिवेदन लेखनको कार्य भइरहेकाले तत्काल अहिले संक्षिप्त रुपमा आयोगले आफ्नो प्रतिवेदन सार्वजानिक गरेको बताउनु भयो ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अविलम्ब चाँडो भन्दा चाँडो मतगणना समेत सम्पन्न गराउन निर्वाचन आयोगले अग्रसरता लिनेपर्ने उहाँले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह