मधेसी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले वैशाख ७ गते विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेका समाचार इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।

इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका अनुसार मोर्चाले बारा र धनुषामा लाठी जुलुस प्रदर्शन गरेका छन् ।

इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार मधेसी मोर्चाले कलैया नगरपालिकामा वैशाख ७ गते लाठी जुलुस प्रदर्शन गरेको छ । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । जुलुसमा सहभागी सबैले हातहातमा लाठी र भाँटा बोकेका थिए । संविधान संशोधन बिना निर्वाचन नगर्न उनीहरूले माग गर्दै प्रदर्शन गरेको बताए ।

मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन कार्यालय समेत केहीबेर घेराउ गरेका थिए । प्रदर्शनकारीहरूको समूहले एभरेष्ट होटलमा प्रवेश गरी राप्रपाको बैठक बिथोलेका थिए । यसैगरी शैक्षिक तालिम केन्द्र गङ्गापुरमा चलिरहेको मतदाता शिक्षा तालिमसमेत बिथोलेका थिए ।

सिद्धेश्वर विद्यालयमा म्यादी प्रहरीको तालिम चलिरहेको स्थानमा पुगेर उनीहरूले वैशाख ८ गते शुक्रवारदेखि तालिममा सहभागी नहुन चेतावनी दिए ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार मधेसी मोर्चाले वैशाख ७ गते जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरूले जनकपुरको जनक चोकबाट निकालेको लाठी जुलुस जनक चोक, राम चोक, जानकी मन्दिर, शिव चोक, भानु चोक र पुनः जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

Photo20170420Dhanusha

संविधान संशोधनको माग गर्दै आन्दोलन गरिएको मोर्चाका जिल्ला नेता परमेश्वर साहले बताए । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले निर्वाचन कार्यालय घेराउ गर्नुको साथै आन्दोलनका विभिन्न कार्यक्रमहरू गरेको उनले बताए ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ७ गते सदरमुकाम जलेश्वरमा लाठी जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको मधेसी मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको तेश्रो दिन खबरदारी स्वरुप लाठी जुलुस निकालेको मोर्चाले जनाएको छ ।

Photo20170420Mahottari

निर्वाचनको कुनैपनि काम अगाडि बढाउन नदिने भन्दै मधेसी मोर्चा आबद्ध नेताहरूले आगामी दिनमा आन्दोलन सशक्त बनाउँदै जाने बताएका छन् ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार संविधान संशोधन नगरी निर्वाचनमा जान लागेको विरोधमा संयुक्त मधेसी मोर्चाले वैशाख ७ गते विराटनगरमा लाठी जुलुस प्रदर्शन गरको छ ।

Photo20170420Morang

संसारीमाइस्थान बाट सुरू भएको र्‍यालीले बजारको परिक्रमा गरी महाविर रोडमा आएर कोणसभा गरेको छ । कोणसभालाई सम्वोधन गर्दै मोर्चाका मोरङ संयोजक राजकुमार यादवलगायतका नेताले  संविधान संशोधन गरेर आफ्ना माग सम्वोधन नगरी निर्वाचन गराए विथोल्ने चेतावनी दिए ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार संयुक्त मधेसी मोर्चाले स्थानीय तह निर्वाचनको विरोध स्वरुप लहानमा लाठी जुलूस निकालेको छ ।

Photo20170420Siraha

मोर्चाका नेता तथा कार्यकर्ताहरूले स्थानीय तहको निर्वाचन बहिष्कार गर, मधेसको माग सम्बोधन गर, अधिकार सहितको संविधान बनाऊ लगायतका नारा लगाएका थिए ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत लहानको एनएमबी बैङ्क अगाडिबाट निकालेको जुलूस लहान बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । त्यसैगरी सिरहाको सिरहा, धनगढी, मिर्चैया, गोलबजार लगायतका नगरपालिकामा जुलूश निकालेका छन् ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजविराजमा वैशाख ७ गते लाठी जुलुस निकालेको छ ।

स्थानीय तह निर्वाचनको विरोधमा हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा पश्चात शहीद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मोर्चाका नेताहरूले संविधान संशोधन बिना हुने स्थानीय चुनाव बिथोल्ने चेतावनी समेत दिए ।

Photo20170420Saptari

मधेशी मोर्चाले जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने, संविधानको धारा २ सय ७४ तत्काल संशोधन गरी सिमाङ्कनसम्बन्धी आफूहरूको माग सम्बोधन गर्ने आधार तयार गर्नुपर्ने लगायतका माग सम्बोधन नभएसम्म स्थानीय तहको निर्वाचन हुनै नदिने जिकीर गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।

मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार सप्तरीको कञ्चनरूप, रूपनी, पातो, बोदे बर्साईन, कल्याणपुर, हनुमाननगर बजारलगायतमा लाठी जुलुस निकालिएको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले बताए ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार निर्वाचनको विपक्षमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले वैशाख ७ गते जिल्ला सदरमुकाम तौलिहवामा लाठी जुलुस प्रदर्शन गरेका छन् ।

सरकारले संविधान संशोधन नगरी निर्वाचनको घोषणा गरेकाले मोर्चाले निर्वाचन बहिष्कार तथा अवरोध गर्ने बताउँदै लाठी जुलुस प्रदर्शन गरेको जनाएको छ ।

मधेसमा कुनै हालतमा चुनाव हुन नदिने भन्दै मधेसी जनतासमेत अधिकार नपाएसम्म चुनावमा सहभागी नहुने बताए । मधेसीले पनि निर्वाचन चाहेको भए पनि संविधान संशोधन बिनाको कुनै औचित्य नरहेकाले मधेसी जनताले विरोध गरेको वक्ताहरूले बताएका थिए ।


अनलाइन डेस्क