मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, सात जना घाइते

  ०७३ चैत १ गते

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न नेपालगञ्ज गुलरिया सडक खण्डको गुनानामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच चैत १ गते भएको झडपमा एकजना बालकसहित सात जना घाइते भएका छन् ।

घाइते हुनेमा मधेसी मोर्चाका कार्यकर्ता उढरापुर गाविस-८ का ४८ वर्षीय फारूक नाँउ, सोही गाविस-४ का २५ वर्षीय मुस्ताक साई, सोनपुर गाविस-८ का २४ वर्षीय असलम भाट, ३२ वर्षीय जब्बार भाट, २८ वर्षीय रहम तुल्ला अन्सारी, ३५ वर्षीय समीम खाँ र सोनपुर गाविस-८ का १० वर्षीय इरफान साई रहेका छन् । घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते फारुकको टाउको र इरफानको निधारमा चोट लागेको छ ।

प्रहरीलाई मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पछि भीडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर बीरबहादुर थापाले बताए ।

यसैगरी बर्दियाबाट दाङका लागि हिँडेको भे १ ख २०४२ नम्बरको बसलाई सिमलघारीमा मधेसी मोर्चाका कार्यकर्ताले रोकी यात्रुलाई बाहिर निकाली पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर थापाले बताए । आगजनीबाट बसको सिट जलेको प्रहरीले जनाएको छ ।

यसैबिच फागुन ३० गते मधेसी मोर्चाले हिरमिनिया गाविसको भङ्घोटना, कालाबन्जर, बल्दीपुरवा, अहिरापुरलगायत ठाँउहरूमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री पशुपति दयाल मिश्रले बताए ।

एमालेको मेची महाकाली अभियानको विरोध गर्दै मधेसी मोर्चाले चैत १ गते बाँके जिल्ला बन्दको आह्वान गरेको थियो ।

मधेसी मोर्चाको बन्द र एमालेको अभियानका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार एलाइन्स, हिमराइटसलगायत संस्थामा आबद्ध अधिकारकर्मीहरूले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा बन्द आह्वानकर्ताले बालबालिकाको प्रयोग गरेको, बन्दका कारण भारतबाट आउने र भारत जाने यात्रुहरू पैदल तथा रिक्सामा गन्तव्यतर्फ हिँड्नुपरेको पाइएको अनुगमन टोलीका सदस्य प्रकाश उपाध्यायले बताए ।

.

.

.

.


विनोद पाण्डे