मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा तीन जना घाइते

  ०७३ फागुन १५ गते

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन १५ गते रौतहटको सदरमुकाम गौरमा झडप हुँदा तीन जना घाइते भएका छन् ।

Photo20170226Rautahat

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला सदरमुकाम गौरमा पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न गौर आउने कार्यक्रम राखेपछि मोर्चाले बिहानैदेखि गौरका विभिन्न स्थानमा टायर बालेर अवरोधको प्रयास गरेको थियो ।

दिउँसो १ बजेको समयमा नेता नेपाल सदरमुकाम प्रवेश गर्न लाग्दा मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्न थालेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट गम्हरिया विर्ता गाविस घर भएका नन्दकिशोर पटेल र समाचार सङ्कलन गर्न गएका द हिमालयन टाइम्सका सम्वाददाता प्रभातकुमार झा घाइते भएका छन् ।

Photo20170226Rautahat1

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी जवान रामविनय यादवसमेत घाइते भएका छन् । घाइते नन्दकिशोर पटेलको टाउको फुटेकाले उनको गौर अस्पतालमा उपचार भइरहेको छ भने पत्रकार र प्रहरी जवान स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्किएका छन ।

प्रदर्शनकारीले एमाले कार्यकर्ता चढेको भारतिय नम्वर प्लेट भएको एक जीपसमेत आगजनी गरेका छन् ।


विपीन गौतम