मधेश प्रदेशका २५ ओटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्
कतै तयारी नपुगेको त कतै आन्तरिक किचलो, मतभिन्नता र विवादका कारणले असार १० गतेभित्र १३ ओटा नगरपालिका र १२ ओटा गाउँपालिकाले अझ पनि सभा सम्पन्न गर्न बाँकी रहेको छ । सभा पूर्व गर्नुपर्ने बैठक, छलफल र अन्य आवश्यक प्रक्रिया पुरा गर्न नसक्दा तथा पदाधिकारीबीच अधिकार र कर्तव्यका विषयमा मतैक्य हुन नसक्दा सभा हुन नसकेको हो ।
स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम असार १० भित्रै स्थानीय तहले बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई पेश गर्नु पर्ने प्रावधान छ । आगामी आर्थिक वर्षको बजेटको अनुमान असार १० गतेभित्र गाउँ/नगर सभामा पेश गरिसक्नु पर्ने व्यवस्था अनुरुप मधेश प्रदेशको आठ जिल्लाका १ सय ३६ ओटा स्थानीय तहहरू मध्ये १ सय ११ ओटा स्थानीय तहमा मात्र सभा सम्पन्न भएका छन् । २५ ओटा स्थानीय तहमा गाउँ/नगर सभा हुन सकेनन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लाका नौ ओटा नगरपालिका र नौ ओटा गाउँपालिकाहरू मध्ये तीन ओटा नगरपालिका र एउटा गाउँपालिका गरी जम्मा चार ओटा स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्न सकेनन् । आर्थिक वर्षको अन्तमा राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी राजधानीमा गएको हुनाले बजेट ल्याउन नसकेको कार्यवाहक नगर प्रमुख इशरत परविनले बताउनु भयो । तर, स्थानीयहरूका अनुसार राजविराज नगरपालिका–७ स्थित हटियाको जग्गा अतिक्रमण बारे नगरपालिका बोर्डको निर्णयलाई कार्यवाहक नगर प्रमुखले उल्टाएर आफू अनुकुल निर्णय गरेको भन्दै विरोधमा उत्रिएका अन्य सदस्य र का.वा प्रमुखबिच अहिले चर्को मतभिन्नताका कारण बजेट ल्याउन सकेनन् । त्यस्तै, हनुमाननगर कंकालिनी र रुपनी गाउँपालिकामा पनि जनप्रतिनिधिहरुबिच तालमेल मिल्न नसक्दा नगरसभा सुरु हुन सकेन ।“कञ्चनरुप नगरपालिकामा असार १० गते आइतबारसुरु गर्न खोजिएको नगर सभामा विवाद भएपछि स्थगित गरियो” कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा जिल्लामा १७ ओटा स्थानीय तहहरूमध्ये लक्ष्मीपुर पतारी गाउँपालिकाले असार १० गते भित्र बजेट पेश गर्न सकेन । आ.व. २०७९/०८० को योजनाहरू सम्पन्न गर्नु पर्ने चटारो रहेको, उपभोक्ता समितिहरूको रकम निकाशा गर्नु बाकि रहेकोले निर्माण भई रहेको योजनाहरू समयमै गरी सक्नु पर्ने जन दबाबका कारण सबै कर्मचारी, जनप्रतिनिधिहरू व्यस्त भएकोले गाउ सभाको तयारी गर्न नसकेको लक्ष्मीपुर पतारी–२ का वडा अध्यक्ष रामचन्द्र चौधरीले बताउनु भयो । वडा अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत, लेखापाल भर्खरै पालिकामा आएकोले योजनाहरू तयार गर्न, निकाशा गर्न र अनुगमनमै व्यस्त भएकोले पनि चाहेर पनि असार १० गते गाउँ सभा गर्न नसकेको बताउनुभयो । साथै उहाँले असार मसान्त भित्रै नगर सभा गरी सक्ने बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार धनुषा जिल्लाका १८ ओटा स्थानीय तहहरू मध्ये मिथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिकाका साथै धनौजी र औरही गाउँपालिका गरी पाँच ओटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । बजेट बाँडफाँडमा विवाद भएपछि पाँच ओटा स्गानीय तहले बजेट ल्याउन नसकेको देखिएको छ । यी स्थानीय तहहरूमा अल्पमत, बहुमत तथा योजना बाँडफाँडमा विवाद देखिएको छ ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको आरोप लगाउनुभयो । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उहाँको गुनासो छ । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं । तर, दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित हुनुभयो ।’-उहाँले भन्नुभयो-‘बुँदागत रुपमा उहाँहरूले हालसम्म कुनै माग पनि राखेका छैनन् । खै के हो ?’ यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताउनुभयो ।
कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेन । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताउनुभयो । जनप्रतिनिधिहरूको विगतकै माग पूरा नभएको कारणले बजेट नआएको उहाँले बताउनुभयो । यसअघि उहाँले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिनुभएको थियो । नगर प्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उहाँको मनमुटाव छ ।
शहीदनगर नगरपालिकाका प्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताउनुभयो । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उहाँको भनाइ छ । तर, उपप्रमुख सुनिता कुमारी सिंहले छलफल गर्न बाँकी रहेको कारण बजेट ल्याउन नसकेको बताइन् । योजना तर्जुमा भए पनि अन्य काममा छलफल तथा सहमति नभएकै कारण अगाडि नबढेको उहाँले बताउनुभयो । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरूसँग पनि छलफल गर्न बाँकी छ । उहाँले योजना बाँडफाँडतर्फ सङ्केत गर्दै भन्नुभयो-‘प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौँ ।’ यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले विवाद खडा गरेको बताउनुभयो ।
महोत्तरी जिल्लामा१५ ओटा स्थानीय तह छन् । तर, जनप्रतिनिधिबीचको आपसी द्वन्द्धका कारण गौशला नगरपालिका र सोनमा गाउँपालिकाले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । गौशलामा आन्तरिक तयारी नपुगेको कारण बजेट ल्याउन नसकेको मेयर डा. दिपेन्द्र महतोले बताउनुभयो । त्यसैगरी सोनमामा जनप्रतिनिधिहरू बीच आपसी द्वन्द्धका कारण बजेट ल्याउन ढिलो भएको गाउँपालिका अध्यक्ष बिशेश्वर यादवले बताउनुभयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्लामा २० ओटा स्थानीय तह मध्ये १८ ओटा स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गरेका छन् । तर, हरिपुर्वा नगरपालिका र हरिवन नगरपालिकाले बजेट ल्यउन सकेनन् । हरिपुर्वा नगरपालिकामा विगत दुई महिनदेखि प्रमुख प्रशासकीय अधिकृतलाई वडा अध्यक्षहरूले उपस्थिति खातामा हाजिर गर्न नदिएको विषयमा विवाद हुँदा नगर सभा हुन नसकेको नगर प्रमुख बिनोदकुमार साहले बताउनु भयो । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले एकलौटी गर्न खोजेको तथा अरु प्रतिनिधिहरूसँग आपसि छलफल र समन्वय नगरेको कारणले तोकिएको समयमा बजेट ल्याउन नसकेको उप प्रमुख हरिमाय घलानले आरोप लगाउनु भयो ।
रौतहट जिल्लाका १८ ओटा स्थानीय तहहरू मध्ये १४ ओटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याए पनि मधवनारायण नगरपालिका, गढीमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याउन सकेनन् । माधवनारायण नगरपालिकामा सभा पूर्व गर्नु पर्ने तयारी नपुगेको कारण बजेट ल्याउन नसकेको नगर प्रमुख बैजनाथप्रसाद यादवले बताउनु भयो । बजेट ल्याउन तथा प्रस्तुत गर्न आपसी समझदारी तथा छलफलका कार्यक्रमहरू अगाडि बढाएको नगर प्रमुख यादवले बताउनु भयो । गढीमाई नगरपालिकाले पनि जनप्रतिनिधिहरूबिचको असमझदारीका कारण असार १० गते भित्र बजेट ल्याउन सकेन । नगर प्रमुख श्यामप्रसाद यादवले एकलौटी हिसाबले बजेट विनियोजन गर्न खोजेको विषयमा विवाद हुदा समयमा बजेट ल्याउन नसकेको उप प्रमुख स्मिताकुमारी यादवले बताउनु भयो । नगर प्रमुखले उप प्रमुख र अरु वडाको बजेटमा कटौती गरी विनियोजन गर्न खोजेको उहाँको आरोप रहेको छ । साथै राजनीतिक द्वन्द्धलाई एकआपसमा छलफल गरी साउन पाँच गतेसम्ममा बजेट ल्याउने उहाँले बताउनु भयो ।
त्यस्तै, दुर्गा भगवती गाउँपालिकाले पनि असार १० बजेट ल्याउन सकेन । गत वर्ष पनि यस गाउँपालिकामा बजेट ल्याउन सात महिना ढिलो भएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले बताउनु भयो । दलगत र गुटगत समस्याका कारण बजेट ल्याउन नसकेको उहाँको आरोप रहेको छ । जनप्रतिनिधिबिच समन्वय नभएको कारण बजेट ल्याउन नसकेको गाउँपालिका अध्यक्ष मोहमद साउदले बताउनु भयो । अब चाडै नै आपसी समझदारी गरी असार २१ गते बजेट ल्याउने अध्यक्षले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्लामा १६ ओटा स्थानीय तह मध्ये १४ ओटा स्थानीय तहहरूले सभा सम्पन्न गरेको छ । पचरौता नगरपालिकाको नगर सभा भएको वा नभएको भन्न नसकिने अवस्था छ । नगरपालिकाको कार्यालयले नगर सभा असार १० गते सम्पन्न भएको भनी पत्र सार्वजनिक गरेको छ । तर, जिल्ला प्रशासन कार्यालयले पचरौता नगरपालिकाको कार्यालयले नगर सभा गरेको छैन भनी मन्त्रालयमा लेखि पठाएको छ । जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद भएको कारण सिम्रोनगढ नगरपालिकाको नगरसभा भएको छैन ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० ओटा गाउँपालिका रहेकोमा ९ ओटा स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । छिपहरमाई, धोविनी, विन्दवासिनी, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । छिपहरमाई गाउँपालिकाले असार १५ गते नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए । बिन्दवासिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु साहको जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि बजेट ल्याउन ढिलो भएको अध्यक्ष प्रमोद तिवारीले बताउनु भयो । बिन्दवासिनीमा असार अन्तिम सातामा मात्रै प्रमुख प्रशासकीय अधिकृत आउने भएकोले साउनमा मात्रै बजेट आउने सम्भावना रहेको अध्यक्ष तिवारीले बताउनु भयो ।
त्यस्तै कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको जीराभवानी गाउँपालिकामा सरुवा भएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नवोनाथ यादव कार्यालयमा हाजिर नहुँदा बजेट ल्याउन ढीला भएको गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमारले बताउनु भयो ।दुईतिन दिनमा प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर हुने भएपछि तुरुन्तै बजेट ल्याउने उहाँले बताउनु भयो । धोविनी गाउँपालिकामा भने राजनीतिक रुपमा सहमतीको अभाव रहेकोले बजेट आउन समस्या भएको हो, जसपाको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित मदन चौहान कार्यपालिका र गाउँसभामा समेत अल्पमतमा रहेकोले बजेट ल्याउन ढिला भएको हो । १३ सदस्यीय कार्यपालिकामा अध्यक्षको पक्षमा तिन जना र बाँकी विपक्षी रहेकोले सहमति कायम गरेर बजेट ल्याउने प्रयासमा रहेको अध्यक्ष चौहानले बताउनु भयो ।
यस्तै सखुवा प्रसौनी गाउँपालिका कार्यालयले पनि बजेट ल्याउन सकेको छैन । बजेट विनियोजन नै नभएको र पार्टीको अधिवेशनमा रहेकोले बजेट ल्याउन नसकेको उपाध्यक्ष शर्मिला विष्ट महतोले बताउनु भयो । ठोरी गाउँपालिकाले भने अहिले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ । बजेट ल्याउन दुईचार दिन ढिला हुने भएको छ । प्रदेशबाट पाउने बजेटहरूमा केही समस्या भएकोले बजेट ल्याउन ढिला भएको तर, असार २० गते भित्रमा बजेट ल्याईसक्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।
असार १० गते पेश गरिएको बजेट असार मसान्त सम्ममा छलफल गरि सम्पूर्ण रुपमा पारित गरिसक्नु पर्छ । साउन १ गते देखि चालु अर्थिक वर्षको प्रारम्भ हुन्छ । १ गते देखि हुने कुनै पनि कामको आर्थिक भुक्तानी आर्थिक वर्ष २०८०/०८१ अर्थात चालु आर्थिक वर्षको बजेटबाट मात्र गर्न पाइन्छ । दैनिक प्रशासनिक र विकासका काम, सामाजिक सुरक्षा भत्ताको वितरण तथा कर्मचारीहरूको पारिश्रमिकको भुक्तानी समेत प्रभावित हुन्छ । स्थानीय तहहरूले असार मसन्तसम्म भएपनि बजेट ल्याउने र पास गर्ने गरेका छन् ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…