मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन

  ०७९ चैत १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला गोष्ठिबाट चैत १५ गते मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

ehrd3
सरसफाई अभियन्ता धिरेन्द्र साहको संयोजकत्वमा नौ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालको सह संयोजकमा मञ्जु सुवेदी, सदस्यहरूमा नन्दनी यादव, रम्भा झा, अर्जुन साह, मनोहर पोखरेल, आशुतोष झा चयन हनुभएको छ । सञ्जालको बैठकबाट रौतहटमा एक जना वातावरणको क्षेत्रमा काम गर्ने अभियन्तालाई सदस्य थप गरिने सर्व सहमतिमा निर्णय भएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा मधेस प्रदेशका कानून मन्त्रि राजकुमार लेखीले प्रदेशमा मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि सञ्जाल आवश्यकता रहेको बताउनु भयो । अधिकारका लागि आवाज उठाउने अभियन्ताहरू माथि सुरक्षाको चुनौती रहने भएकोले अधिकारकर्मीहरूको साझा संस्था राष्ट्रिय मानव अधिकार आयोगलगायत प्रदेश सरकार अग्रसर रहेको बताउनु भयो । मानव अधिकारकर्मीहरूको छलफलबाट आउने योजना र कार्यक्रमका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगको लागि आफू सकारात्मक रहेको बताउनु भयो ।
मधेस प्रदेश सभाका सांसद रामअशिष यादवले अहिले मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूको अवस्था, सुरक्षा र आर्थिक अवस्था समेत कमजोर रहेकाले यस प्रति सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले अहिले वातावरण क्षेत्रमा काम गर्नुपर्ने निकै आवश्यकता रहेको बताउनुभयो । अहिले समाजमा जल, जमिन, जंगललगायत ध्वनी प्रदुषणले गर्दा मानव जीवनलाई खतरा उत्पन्न भई रहेकाले वातावरणको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकार रक्षकहरूको लागि आयोगबाट गर्नुपर्ने सहयोग र कार्यक्रमका लागि आफूहरू सकारात्मक रहेको बताउनुभयो । उहाँले मानव अधिकार रक्षकहरूको लागि इन्सेकलगायत संस्थाको सहयोगमा मानव अधिकार रक्षक विद्येयक तयार गरि संघिय सरकारका सभामुख, समितिका सभापतिलगायतलाई प्रदान समेत गरेको बताउनुभयो ।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले अधिकारका लागि फिल्डमा दिनरात मेहनत गर्ने अधिकारकर्मीहरूलाई सरकारले आवश्यक परेको बेलामा सुरक्षाको साथै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले मधेस प्रदेशमा मानव अधिकारको अवस्था, रक्षकहरूको समस्या, चुनौतीलगायतको सवालमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रदेश सभा सांसद रामअशिष यादवले वातावरण र मानव अधिकार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकार रक्षकहरूको लागि आयोगका काम, कर्तव्य र दायित्व सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

ehrd4 WhatsApp Image 2023-03-30 at 11.38.29 AM


दिपेन्द्र प्रसाद सिंह