मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए

  ०७९ जेठ ५ गते

महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको गणना नै छुटेको पाइएको हो ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ ।

निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको जानकारी दिनु भयो ।

बर्दिबास वडा नं. ८ अन्तर्गत बेलगाछी–६ को दुई वटा बाकस मध्ये एउटा बाकसको मात्रै मतगणना भएको र अर्काे बाकस अर्कै वडाको बाकस राखिएको ठाउँमा फेला परेको तामाङले बताउनु भयो ।

मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेलासम्म सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको उहाँको भनाइ छ ।

बर्दिबासको मतगणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । जेठ २ गते बर्दिबास नगरपालिका–८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा बिजयी भएको घोषणा गर्नु भएको थियो ।

निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणा अनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गर्नु भएको थियो ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणाम अनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७ सय ५३ मत प्राप्त गर्नु भएको थियो भने भने उहाँका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गर्नु भयो ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा विश्वस्त रहेको जनाएको छ ।

बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये आठ ओटाको मात्रै गणना गरेर मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसेर सहमति गरेर मतगणना गरिने बताइएको छ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

यसैबिच छुटेको मतपेटिकको मत गणना गर्दा माओवादीको ७ सय ६७ र एमालेको पनि ७ सय ६७ मत ल्याएर बराबरी मत आएको हो ।

दुवै उम्मेदवारले मत बराबरी ल्याएपछि गोला प्रथाबाट माओवादीको उम्मेदवारले जित हासिल गरेका छन् ।


अजयकुमार साह