मतादातालाई धार्मिक पुस्तकको शपथ खुवाई मत माग्ने गरेको आरोप

  ०७९ वैशाख २६ गते

जिल्लाका चार स्थानीय तह मध्ये पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकामा वैशाख ३० गते हुने निर्वाचनमा भाग लिएका दलका उम्मेदवारहरूले आफनो पक्षमा मत माग्नकालागि मतदाताहरूलाई धार्मिक पुस्तक शिरमा राखि शपथ खुवाएर मत माग्ने गरेको स्थानीयबासीले आरोप लगाएका छन ।

मुगुम कार्मारोङ्ग गाँउपालिका–८ मा लामा समुुदायको बसोबास बढी रहेको छ भने वडा नम्बर ९ मा क्षेत्री समुदायको बसोबास रहेको छ । लामा समुदाय बसोबास रहेको सबै गाउँमा निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले मतदातालाई आफनो पक्षमा मत माग्न धार्मिक पुस्तकलाई साक्षी राखेर अन्य ब्यक्तिलाई मत नदिन दवाव दिने गरेको मुगुम कार्मारोङ्ग—८ का शेरबहादुर लामाले आरोप लगाउनु भयो ।

मुगुम कार्मारोङ्ग गाँउपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन । नेकपा एमाले एक्लै निर्वाचनमा भाग लिएको छ भने एकीकृत समाजवादीले पनि एकल उम्मेदवारलाई दर्ता गराएको छ । सबै दलले आफना पक्षमा मत माग्न मतदातालाई बौद्ध धर्मलम्बीहरूको धार्मिक पुस्तकलाई अनिवार्य शिरमा राखि कसम (शपथ) खुवाई मत माग्ने गरेका हुन ।

मतदातालाई धार्मिक पुस्तक शिरमा राखेर आफनो पक्षमा मत आफूहरुले नमागेको तर नेपाली काँग्रेसका गाँउपालिका अध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाको नेतृत्वको टिमले यस्ताखाले गतिविधि अगाडी बढाएको मुगुम कार्मारोङ गाउँपालिका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सोनाम लामाले आरोप लगाउनु भयो ।

मतदातालाई त्रास देखाएर धार्मिक पुस्तक शिरमा राख्न लगाई मत माग्ने गरेको आरोप झुठा हो । यो विपक्षहरूले लगाएको आरोप मात्र हो । यस्तो कार्य अन्य दल स्वयम नेकपा एमालेले पनि गरेको नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाले बताउनु भयो ।

मतदातालाई त्रसित पारेर कुनैपनि गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख छ । दलहरूले अचारसंहिता भित्रै रहेर चुनाव प्रचारप्रसार गर्न पर्छ ।

आचारसंहिता विपरितका गतिविधि भएको मुख्य निर्वाचन कार्यालयमा कुनै जानकारी नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनु भयो ।


जीवन सेजुवाल