मतपेटिका छुटेपछिको गणना ढिलाई

  ०७९ मङ्सिर ५ गते

ठाँटीकाँध गाउँपालिका–२ को जनता आधारभूत विद्यालय पिपलचौतारा मतदान केन्द्रका मतपेटिका चार मतपेटिका ठाँटीकाँध प्रहरी चौकीमा र मतदान अधिकृत ज्वालाप्रसाद खनाल ठाँटीकाँध बजारमै छुटेको कारण दैलेख क्षेत्र नं. २ को सर्वदलीय बैठक प्रभावित भएको छ ।

ठाँटीकाँध गाउँपालिकाभरका मतपेटिका प्रहरीमा संकलन गरी खाना खान भनी बजारतिर छिरेकामा मङ्सिर ४ गते राति दुल्लूबाट पुगेको टिप्पर मतपेटिका लोड गर्न लाग्दा मतदान अधिकृत नभेटिएको र फोन समेत नउठेको कारण उक्त मतदान केन्द्रका मतपेटिका त्यहीं छाडिएको थियो ।

‘साह्रै थकाइ लागेको थियो एक झप मात्र सुत्छु भनेर सुतेको होटलमा मस्त निदाएछु, फोन आएको थाहा पाइन’ मतदान अधिकृत खनालले भन्नुभयो । मतपेटिका त्यहाँ छुटेको कारण मतगणना समेत ढिलाई भएको अधिकारीहरुको भनाइ छ ।

‘लापरवाही या जानाजान हो ?’ छानबिन भइरहेको दैलेख क्षेत्र नं. २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले बताउनुभयो । मतपेटिका अहिले दुल्लू ल्याइँदैछ, सर्वदलीय सहमतीका आधारमा निर्णय लिन्छौं उहाँले भन्नुभयो ।

प्राप्त विवरण अनुसार दुल्लूबाट मतपेटिका लिन गएको टिप्परले ठाँटीकाँध गाउँपालिकाका ६ वडाका ८ स्थानका १२ मतदान केन्द्रका ४८ वटा मतपेटिका मध्ये ४४ वटा गाडीमा लोड गरेको तर मतदान अधिकृत फेला नपरेको भन्दै चार वटा मतपेटिका ठाँटीकाँध प्रहरी चौकीमै छोडेर दुल्लू पुगेको थियो ।

जनता आधारभूत विद्यालय पिपलचौतारा मतदान केन्द्रमा सात सय २९ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।

मतपेटिका छुट्नु सामान्य कुरा भएको नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष बिनोदकुमार शाहले भन्नुभयो । मतपेटिका छुट्नु कर्मचारीहरुको कर्मचारीको कमजोरी हो, बाकस सिल ठीक अवस्थामा भए मतगणना सुचारु गर्न सकिने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पानकुमार शाहीले बताउनुभयो ।


अमर सुनार