मतदान गर्नबाट वञ्चित हुनु परेको कैदीबन्दीहरुको गुनासो

  ०७९ कात्तिक २१ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनु परेको जिल्ला कारागारका ३५ जना कैदीबन्दीहरुले गुनासो गर्नु भएको छ ।

मतदाता नामावली संकलनका क्रममा आफूहरुलाई जानकारी नदिएका कारण नाम छुट्न गएपछि मताधिकारको अधिकारबाट वञ्चित हुनु परेको जिल्ला कारागार, दार्चुलामा रहनु भएका कैदीबन्दहरुले गुनासो गर्नु भएको हो ।

जिल्ला कारागार, दार्चुलामा ४९ जना कैदी र ११ जना थुनुवा राखिएको भएपनि मतदाता नामावलीमा नाम समावेश भएका एक महिला गरी २५ जना कैदीबन्दीहरुले मात्रै निर्वाचन आयोगले मतदान गर्न दिने भएको छ ।

कैदीबन्दीहरूले नामावली संकलनका बेला दर्ता गराउने अवसर नदिएका कारण आफूलगायत अन्य कैदीबन्दीहरु म्ताधिकारबाट वञ्चित हुनु परेको जिल्ला कारागारका कैदी प्रकाश धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘धेरैजसो कैदीबन्दीका नाम छुटेका छन् । धेरैले मतदाता नामावली संकलन गरिरहेको भन्ने जानकारी नै पाएन्न् ।’

जिल्ला कारागारमा रहेका अर्का कैदी ललित पन्तले मतदान गर्न पाउने व्यवस्थाले खुसी भएको बताउनु भयो । तर, धेरै जना कैदीबन्दीहरु मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुनु भएको पन्तले बताउनु भयो ।

आयोगले मतदाता नामावली संकलनको बेला छुटेका कैदीबन्दीहरुले निर्वाचनमा भाग लिन नपाउने जिल्ला कारागार, दार्चुलाका जेलर रामराजा पन्तले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘केहीको नागरिकता बनेको छैन् । निर्वाचनको मिति घोषणा भइसकेपछि नाम संकलन गर्न समय नभएकोले धेरैको नाम छुट्न गएको छ । कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।’

मतदाता नामावली ऐन, २०७३ अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा र कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ ।

त्यसका लागि आयोगले अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

जिल्लाभरी २ हजार ४ सय अस्थायी मतदाता रहेको र उहाँहरुका लागि दुई ओटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले बताउनु भयो ।

समानुपातिक अस्थायी मतदाताहरुका लागि जिल्ला कारागार र घेरेलु कार्यालयमा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा कुल ८९ हजार १ सय ५४ जना मतदाता रहेका छन् ।


नरेन्द्रसिह कार्की