मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा

  ०७९ जेठ ३ गते

मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ ।

वैशाख ३० गते त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी आधारभूत विद्यालयको मतदान प्रक्रिया पानी परेपछि रोकिएको थियो ।

पुनः मतदान गर्ने कि मतगणना गर्ने भन्ने विषयमा दलहरूबिच वैशाख ३१ गते छलफल गर्ने क्रममा मुख्य मतदान अधिकृत अचेत भएपछि उहाँले जेठ १ गते राजीनामा दिनु भएको सहायक मतदान अधिकृत दिलिप मगरले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको राजनीमापछि आयोगले दिएको निर्णयका आधारमा प्रक्रिया अघि बढ्ने भएपनि जेठ ३ गतेसम्म आयोगको निर्णय नआउँदा पुन मतदान वा मतगणना भन्ने विषयमा अन्यौलता बढेको सहायक मतदान अधिकृत मगरले बताउनु भयो ।

पानी परेर रोकिएको मतदान तत्काल सुचारू हुन नसक्दा मतदान रोकिएको थियो ।

कटारी नगरपालिका–१० सोरूङछविसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका जेठ १ गते कटारी ल्याइएको भएपनि मतगणना सुरू हुन सकेको छैन ।

निर्वाचनका दिन वैशाख ३० गते मतपेटिका असुरक्षित हुने भन्दै प्रहरीले सुरक्षाका लागि गोली चलाउँदा कटारी नगरपालिका–१० का १९ वर्षीय नविन भनिने वीरबहादुर कटुवालको घटनास्थलमै मृत्युपछि स्थानीयले मतपेटिका सङ्कलनमा अवरोध गरेका थिए ।

जेठ १ गते प्रहरी, प्रशासन, स्थानीय र राजनीतिक दलबीच मृतकलाई सहीद घोषणा, पीडित परिवारका एक जना सदस्यलाई रोजगारीलगायतका सात बुँदे सहमतिपछि पीडित पक्षले शव बुझेसँगै मतपेटिक कटारी ल्याइएको थियो ।

मतपेटिका कटारी ल्याएको दुई दिन बितेपनि मतगणना हुन भने सकेको छैन । गृह मन्त्रालयले गोली चलाएको घटना छानबिनका लागि निश्पक्ष समिति नबनाएसम्म मतगणना गर्न नदिने स्थानीय अडान राखेपछि मतगणना कार्य रोकिएको छ ।

स्थानीयको माग सम्बोधन नभएसम्म मतगणना गर्न नदिने कटारी नगरपालिका–१० का शिक्षक सन्देश खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

निर्वाचन आयोगको निर्णयपछि मात्र मतगणना हुने प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ १ गते कटारी अस्पतालमा गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी कटारी नगरपालिका–१० सोरूङछविसेमा सद्गत गरेको मृतकका काका गौरवबहादुर कटुवालले बताउनु भएको छ ।


सुजाता ढुङ्गाना